विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, कसकसले दिन पाउँछन् आवेदन?



बिजमाण्डू
२०८३ असार ३१ गते ११:५९ | Jul 15, 2026
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, कसकसले दिन पाउँछन् आवेदन?


काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्नका लागि इच्छुक र योग्य उम्मेदवारहरूबाट आवेदन मागेको हो।

Tata
GBIME
Nepal Life

सरकारले विगतका नियुक्ति खारेज गर्दै विभिन्न निकायको नेतृत्वमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाउँदा त्यसमा बोर्ड पनि परेको हो। बोर्डको अध्यक्षमा २०८२ जेठ १३ मा लक्ष्मण हुमागाईंले पुन: नियुक्ति पाएका थिए। नयाँ सरकारले उनलाई हटाएपछि मन्त्रालयले दरखास्त खुलाएको हो।

आवेदकले आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मापदण्ड छ। त्यस्तै, आवेदन दिने उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको र कुनै कानुनले अयोग्य नठहर्‍याएको व्यक्ति मात्र यसका लागि योग्य हुने मन्त्रालयले जनाएको छ।

सिंहदरबारस्थित मन्त्रालयको संस्थान समन्वय शाखामा एक साताभित्र आवेदन बुझाउने म्याद तोकिएको छ। आवेदनका साथमा व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रका प्रतिलिपि, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

साथमा तीन हजारदेखि पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना (तीन प्रति) सिलबन्दी र बढीमा २० मिनेटको प्रस्तुतीकरणका लागि तयार पारिएको कार्ययोजनाको सिलबन्दी प्रस्तुतीकरण समेत बुझाउनुपर्छ।