सरकारले पुँजीगत बजेट अन्तिम समयमा पनि खर्च गर्न सकेन, असारको २२ दिनमा १८ अर्बमात्रै



बिजमाण्डू
२०८३ असार २३ गते १५:१३ | Jul 7, 2026
सरकारले पुँजीगत बजेट अन्तिम समयमा पनि खर्च गर्न सकेन, असारको २२ दिनमा १८ अर्बमात्रै


काठमाडौं। चालु आर्थिक वर्ष सकिन एक हप्ता मात्रै बाँकी हुँदा पुँजीगत खर्च एक तिहाइमा सीमित भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले चालु आवमा ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत शीर्षकमा छुट्याएकामा असार २२ गतेसम्म १ खर्ब ४९ अर्ब २९ करोडमात्रै खर्च भएको छ।

विगतका वर्षमा जेठ-असारमा पुँजीगत खर्च बढ्ने गरेकामा यो वर्ष त्यो प्रवृत्ति देखिएन। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत जेठ मसान्तसम्म १ खर्ब ३२ अर्ब ६६ करोड खर्च भएकामा असारको २२ दिनमा १८ अर्बमात्रै खर्च भएको छ।

जबकि गत आव २०८१/८२ को असार महिनामा मात्रै ७९ अर्ब खर्च भएको थियो। गत आवमा कुल लक्ष्यको ६३ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको थियो।

चालु आवमा लक्ष्यअनुसार खर्च नभएपछि तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकारसँगै पुँजीगततर्फ २ खर्ब ४३ अर्बमात्रै खर्च हुने संशोधित लक्ष्य तय गरेका थिए। तर यो लक्ष्य पनि पूरा नहुने भएको छ।

अर्थ मन्त्रालयले पहिलेजस्तो हतारमा काम सकाउने र अन्तिममा जथाभावी भुक्तानी दिने क्रम यो वर्ष रोकिएकाले असारे खर्च कम भएको बताएको छ।

‘असारे खर्चमा केही कडाइ भएकै छ। त्यसका साथै निर्माण सामग्रीको मूल्यवृद्धि, सामानको उपलब्धता र त्रासको वातावरणले पनि यसमा भूमिका खेलेको देखिन्छ,’ मन्त्रालयका बजेट महाशाखाका एक कर्मचारीले भने।