अर्थमन्त्री वाग्लेसँग एडीबीका अध्यक्ष कान्डाको भेटवार्ता, ‘नेपाललाई उच्च प्राथमिकतामा राखेका छौं’



बिजमाण्डू
२०८३ असार २२ गते १७:०६ | Jul 6, 2026
अर्थमन्त्री वाग्लेसँग एडीबीका अध्यक्ष कान्डाको भेटवार्ता, ‘नेपाललाई उच्च प्राथमिकतामा राखेका छौं’


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले भेटवार्ता गरेका छन्।

Tata
GBIME
Nepal Life

गएराति नेपाल आएका कान्डाले सोमबार अपराह्न सिंहदरबार पुगेर अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका हुन्। अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक विकासका लागि सहयोगलाई निरन्तरता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

जवाफमा एडीबीका अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

अर्थ मन्त्रालयका अनुसार कान्डाको भ्रमणका क्रममा भन्सार सुधारका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड) रुपैयाँको ऋण सम्झौता हुँदैछ। यो रकम भन्सार प्रशासनको डिजिटलाइजेसन, आधुनिकीकरण र व्यापार सहजीकरणमा सहयोग पुर्‍याउन लगानी हुनेछ।

जोखिममा आधारित परीक्षण प्रणाली, प्रक्रियागत सरलीकरण, संस्थागत समन्वय अभिवृद्धि र ढुवानी तथा लजिस्टिक्समा सहजीकरण गर्न पनि ऋण उपयोग हुने मन्त्रालयले जनाएको छ।

एडीबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो। बहुआयामिक विकासमा ऋण, अनुदान लगायत सहायतामार्फत एडीबीले नेपालमा लगानी गरिरहेको छ। कान्दा मंगलबार फर्किने तालिका छ।