पोखरा रोजगार मेलामा प्रत्यक्ष सोधीखोजीसँगै अनलाइन आवेदन दिनेको संख्या उल्लेख्य



बिजमाण्डू
२०८३ असार २० गते ०८:२३ | Jul 4, 2026
पोखरा रोजगार मेलामा प्रत्यक्ष सोधीखोजीसँगै अनलाइन आवेदन दिनेको संख्या उल्लेख्य


पोखरा। रोजगार मेलामा करिब एक हजार आठ सय जनाको आवेदन अनलाइनमार्फत परेको छ। पोखरामा शुक्रबार भएको मेलामा रोजगारीको खोजीमा लागि सोधपुछ गर्न पुग्नेको संख्या उल्लेख्य रह्यो।

Tata
GBIME
Nepal Life

पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार करिब १८ सय जनाले अनलाइनबाट आवेदन दिएका थिए भने ५ हजारको हाराहारीमा युवा मेलाका ५१ वटा स्टलमा जानकारी लिन पुगेका थिए। ‘कति जनाको जागिर सुनिश्चित भयो भन्नेबारे केही दिनमा थाहा हुनेछ,’ उनले भने, ‘पोखरा जब फेयर २०२६ मा आफूले चाहेको जागिरका लागि आवेदन अनलाइन पनि दिन पाइने सुविधा थियो।’

पोखरा-६  बुलौंदीमा रहेको इभेन्ट सेन्टरमा आयोजित मेलामा व्यावसायिक प्रतिष्ठानहरुले सहभागिता जनाउँदै आफूहरुलाई आवस्यक जनशक्तिको खोजी गरेका थिए। मेला उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्यमशील विकास, रोजगारी सृजना र स्वरोजगारीयुक्त जनशक्ति तयार गर्ने सन्दर्भमा महानगरपालिका निरन्तर लागिरहेको बताएका थिए।

महानगरले नगरवासीलाई दक्ष र सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने तथा आवश्यक परे बीउपुँजी पनि उपलब्ध गराउने योजना अगाडि बढाएको जानकारी दिएका थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले रोजगारी खोज्नु स्वभाविक भए पनि युवाहरुले उद्यमशीलतातर्फ पनि लाग्नुपर्ने बताएका थिए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की हरेक वर्ष श्रम बजारमा आउने ५ लाख हाराहारी युवाहरुलाई कसरी देशमै रोक्ने र कसरी सिर्जनशील तुल्याउने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँछन्। उनले भने, ‘कुनै पनि देश रेमिट्यान्सले धनी हुँदैन। धनी हुनको लागि उत्पादकत्व बढ्नुपर्छ। उद्योग-व्यवसाय गर्नुपर्छ। मुख्य कुरा युवा जनशक्ति देशमै बस्ने वातावरण निर्माण हुनुपर्छ।’

जागिर खोज्ने जनशक्तिमात्र नभएर जागिर दिने पनि बढ्नुपर्ने खाँचो उनले औंल्याए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका कार्कीले भने, ‘हाम्रा विश्वविद्यालयहरुले सर्टीफिकेट बोकेर जागिर खोज्न धाउने जनशक्ति हैन कि उद्योग-व्यवसाय गर्ने साहस भएकाहरु तयार गर्ने बाटो देखाउनुपर्छ। हामीले हाम्रो तर्फबाट सक्दो प्रयत्न गरिरहेका छौं।’

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाका अनुसार मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेस गर्नेदेखि रोजगारदाताबाट आफूलाई चाहिएको जनशक्तिको खोजी भएको थियो।

होटल तथा पर्यटन, व्यापार, बजार लगायत विभिन्न क्षेत्रका स्थापित कम्पनीहरुको सहभागिता रहेको मेला पोखरा महानगरपालिकाको सहयोगमा पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्स प्रालिले आयोजना गरेका थिए।