काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले शुक्रबार अपराह्न ५ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक राखेका हुन्।
बैठकमा संवैधानिक निकायकाे रिक्त पदमा नियुक्तिको सिफारिस सम्बन्धमा छलफल हुने परिषद्का सदस्य रहेका नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।
हाल राष्ट्रिय प्राकृतिक सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन, निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित दुई, राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मधेसी आयोग र मुस्लिम आयोगमा अध्यक्षसहित दुई/दुई पद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगमा एक/एक पद रिक्त छ।
नयाँ सरकार बनेपछि परिषद्को बैठक यसअघि गत वैशाख २४ गते बसेको थियो। त्यो बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो।










