काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत १८ जना प्राविधिकहरुलाई कोरोना संक्रमण देखिएपछि आयोजनाको छैटौं युनिटको परीक्षण स्थगित गरिएको छ।
आयोजनाको परीक्षणमा संलग्न अधिकांश प्राविधिकहरु संक्रमित रहेको आयोजनाले जनाएको छ। संक्रमितमध्ये चार जनालाई थप उपचारका लागि बिहीबार काठमाडौं ल्याइएको छ।
संक्रमणलाई थप फैलिन नदिन हाललाई परीक्षण कार्य रोक्नुका साथै बाहिरबाट आयोजनास्थलमा जाने आगन्तुकलाई पनि प्रवेश निषेध गरिएको आयोजनाले जनाएको छ।
भदौ १ देखि छैटौं युनिटबाट परीक्षण उत्पादन सुरु गरिएपनि प्राविधिकहरु संक्रमित भएपछि अहिले छैटौं युनिटको परीक्षण रोकिएको छ। अहिले आयोजनाको पाँचवटा युनिटबाट कुल ३८० मेगावाट विद्युत भने नियमित उत्पादन भइरहेको छ।










