काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका लागि मोटर बीमा सबैभन्दा ठूलो व्यवसायको क्षेत्र बनेको छ। कम्पनीहरुले चालु आर्थिक वर्ष ११ महिनामा मोटर बीमा वापत १३ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
यो रकम पोहोर जेठसम्मको तुलनामा १७.३८ प्रतिशत धेरै हो। गत वर्ष ११ महिनामा कम्पनीहरुले मोटर बीमा वापत ११ अर्ब ७४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरे ३०.२४ प्रतिशत रहेको हो। कम्पनीको व्यवसायिक आकारमा मोटर बीमापछि सम्पत्ति बीमा देखिएको छ।
दुई आर्थिक वर्ष ११ महिनामा निर्जीवन बीमा कम्पनीले बीमा लेख अनुसार संकलन गरेको प्रिमियम रकम (लाखमा)
| पोलिसी | २०८२/८३ | २०८१/८२ | फरक % |
| मोटर | १३७८६८.९६ | ११७४५१.२० | १७.३८ |
| सम्पत्ति बीमा | १०७७१४.९५ | १०१३१२.४१ | ६.३२ |
| इन्जिनियरिङ | ८६३१७.४७ | ६९०४०.१६ | २५.०३ |
| विविध | ४५५८१.५० | ४१४३७.०२ | १० |
| सामुन्द्रिक बीमा | २८०४०.३४ | २३२११.१३ | २०.८१ |
| हवाइ बीमा | २२८४८.४२ | २२६५८.३७ | ०.८४ |
| कृषि तथा बाली | १५३७३.४८ | १५०८२.२२ | १.९३ |
| लघु | १२०८९.३८ | ८६४८.२३ | ३९.७९ |
| कुल | ४५५८३४.५० | ३९८८४०.७५ | १४.२९ |
सम्पत्ति बीमा वापत बीमा कम्पनीले १० अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम पोहोर सोही अवधिको तुलनामा ६.३२ प्रतिशत धेरै हो। कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २३.६३ प्रतिशत रहेको छ।
इन्जिनियरिङ बीमा पोलिसी बिक्रीबाट इन्स्योरेन्स कम्पनीले ८ अर्ब ६३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम गत वर्ष ११ महिनाभन्दा २५.०३ प्रतिशत धेरै हो।
निर्जीवन बीमा व्यवसायमा इन्जिनियरिङ बीमाको हिस्सा १८.९३ प्रतिशत हो।











