काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा महिलाको हिस्सा आधा देखिएको छ। महाधिवेशनबाट निर्वाचित भएका ९९ जना केन्द्रीय सदस्यमा ४९ जना महिला छन्।
खुलातर्फ निर्वाचित ३२ जना केन्द्रीय सदस्यमध्ये ९ जना महिला हुन्। समावेशीतर्फको ३२ जनाको कोटामा १५ जना महिला निर्वाचित भएका छन्। खस आर्यतर्फबाट ५, आदिवासी/जनजातितर्फबाट ४, थारुतर्फबाट १, मधेशी र दलिततर्फबाट २/२ तथा मुस्लिमतर्फबाट १ महिला निर्वाचित भएका हुन्।
प्रदेशतर्फको ३५ जनाको सिटमा महिलाले वर्चस्व कायम गरेका छन्। हरेक प्रदेशबाट ५/५ जना निर्वाचित भएकामा वागमतीमा महिलाले क्लिन स्वीप गरेका छन्। यस्तै कोशी, मधेश, लुम्बिनी र कर्णालीबाट ४/४ महिला निर्वाचित भएका छन्। गण्डकी र सुदूरपश्चिमबाट भने २/२ महिला उम्मेदवार विजयी भएका छन्।

















