सहरले नपत्याएको एउटा ब्राण्ड, बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा



बिजमाण्डू
२०७८ साउन २५ गते ०९:१५ | Aug 9, 2021
सहरले नपत्याएको एउटा ब्राण्ड, बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा

काठमाडौं। डोलराज अधिकारी, सुदूरपश्चिमको कैलालीमा खाद्यान्न उद्योग चलाएर बसिरहेका थिए। कैलालीमा सन् १९९६ सानो नवदुर्गा इन्टरप्राइजेजबाट व्यवसायमा हात हालेका अधिकारीले १७ वर्ष अघि पार्वती एग्रो इन्डस्ट्रिज स्थापना गरेर विभिन्न खाद्यान्न उत्पादन र बिक्री वितरण थाले।

Tata
GBIME
Nepal Life

उनले चिउरा, चामल तेल र सोयाविन तेलका लागि उद्योग समेत लगाए। खाद्यान्न उद्योगबाट सफल भएपछि भने अधिकारीले स्वास्थ्यसँग सम्बन्धित उद्योग स्थापना गर्ने योजना बनाए।

उद्योग लगाउनु अघि उनले केही अध्ययन समेत गरे। केही महिनाको अध्ययनपछि उनले स्वदेशमै डाइपर उद्योग लगाउने निष्कर्षमा पुगे।

विदेशबाट उच्च गुणस्तरको कच्चा पदार्थ ल्याएर नेपालमा अन्तर्राष्ट्रिय स्तरको डाइपर उत्पादन गर्न सकिने देखिएपछि उनले भैरहवाको तिलोत्तमा नगरपालिकामा उद्योग स्थापना गर्न दुई बिघा जग्गा किने।

 र, पाँच वर्ष अघि एजी हेल्थ इन्डस्ट्रिजको उद्योग स्थापना गरे। त्यो उद्योगबाट चार वर्ष अघिदेखि बच्चाहरुका लागि आवश्यक सगुन बेबी पोको प्यान्ट्स नामको डाइपर उत्पादन भइरहेको छ। चिनियाँ प्रविधिको उच्च गुणस्तरको डाइपर यो उद्योगबाट उत्पादन भइरहेको छ। उद्योगले प्रत्यक्ष रूपमा पाँच सयले रोजगारी पाएका छन्।

 गाउँले रोज्यो तर सहरले बहुराष्ट्रिय खोज्यो

अधिकारीले पाँच वर्ष अघि उद्योग स्थापना गर्दा विदेशबाट सवा अर्बको हाराहारीमा बच्चाको डाइपर आयात हुन्थ्यो। अहिले यो बढेर १ अर्ब ६५ करोड रुपैयाँ हाराहारीमा आयात हुन्छ।

आयातित डाइपर रोक्नकै लागि अधिकारीले अत्याधुनिक डाइपर प्लान्ट उनले लगाएका थिए। १ अर्ब ३० करोड लगानी गरेर तयार भएको यो उद्योगबाट बहुराष्ट्रिय कम्पनीसरहनै डाइपर उत्पादन हुन्छ।

उनले अत्याधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ, वैज्ञानिक डिजाइन, गुणस्तरीय प्याकेजिङ र गुणस्तर जाँचका कारण बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्ने उत्पादन रहेको जिकिर गरे। तर नेपाली उत्पादन भन्ने वित्तिकै नाक खुम्चाउने गरिएकोमा भने अधिकारीको गुनासो छ।

'हामीले डाइपर उत्पादन थालेको चार वर्ष भयो। देशभर नै हाम्रो डाइपर बिक्री हुन्छ। तराईका क्षेत्रमा हाम्रो उत्पादनले राम्रो बजार लिइसकेको छ। तर सहरका उपभोक्ताले अझै पनि हामीलाई पत्याएका छैनन्,' उनले बिजमाण्डूसँग भने, 'सहरमा पैसा धेरै हुने बस्छन्। उनीहरुमा विदेशी ब्राण्ड नै राम्रो भन्ने धारणा देखिन्छ।'

यो धारणा परिवर्तन गर्न सजिलो नभएको अधिकारी स्वीकार्छन्। 'सहरी क्षेत्रले धेरै वर्ष अघिदेखि डाइपर लगायतका सामाग्री प्रयोग गर्दै आएको थियो। त्यो बेलामा नेपाली उत्पादन थिएन,' उनले भने, 'वर्षौदेखि प्रयोग गर्दै आएको ब्राण्डको विकल्प खोज्न नसकेको हुनसक्छ। त्यसका लागि हामीले पनि मेहेनत गर्नैपर्छ।' बहुराष्ट्रिय कम्पनीकोजस्तै आफ्नो उत्पादन रहेकाले ब्राण्डिङ गरे सहरका उपभोक्ताको समेत रोजाइमा पर्नेमा अधिकारी विश्वस्त छन्।

उनी आफ्नो उत्पादन र बहुराष्ट्रिय कम्पनीको उत्पादन दाँजेरै प्रयोग गर्न चुनौती दिन्छन्। 'हगिज, ममीपोको प्यान्ट्स, प्याम्पर्स् भन्दा हाम्रो उत्पादन राम्रो छ। मूल्य विदेशी भन्दा पाँचदेखि सात प्रतिशत सस्तो छ,' अधिकारीले भने, 'उत्पादनदेखि प्याकेजिङसम्म विदेशीसँग प्रतिस्पर्धा गर्ने हैसियतको बनाएका छौं।'

'राज्यले सेफगार्ड गर्नुपर्छ'

सरकारले आयातित डाइपर र डाइपर बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दर फरक बनाउनुपर्ने अधिकारी बताउँछन्।

'हामीले आयात निरुत्साहित गर्न स्वदेशमै ठूलो लगानीमा उद्योग स्थापना गरेका छौं। यो उद्योगलाई बचाउनका लागि सरकारले तयारी डाइपर र कच्चा पदार्थमा दुई तहको भन्सारदर फरक बनाउनुपर्छ, उनले भने।

उनले समान भन्सार दरका कारण स्वदेशी उत्पादनलाई प्राथमिकता राखेर नीति बनाउनुपर्ने बताए। 'सरकारले कुनै पनि नीति बनाउँदा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने हुनुपर्छ। तर वैदेशिक व्यापारलाई प्रोत्साहन गर्ने बनाउने गरिएको छ,' अधिकारीले भने, 'नेपालमै मूल्य अभिवृद्धि हुनसक्ने उत्पादनलाई संरक्षणका लागि सेफगार्ड नीति पनि लिनुपर्छ।'