काठमाडौं। नेपाल बीमा प्राधिकरणले आधा दर्जन इन्स्योरेन्स कम्पनीलाई सञ्चालन र प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पत्र काट्न लागेको छ।
प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्स लगायतका आधा दर्जन कम्पनीलाई सीइओ नियुक्तिका लागि निर्देशन दिन लागेको हो।
‘कम्पनीका सञ्चालकहरु नै निलम्बनमा परेका कारण विशेष साधारण सभा बोलाएर पहिले सञ्चालक छनोट गरेर त्यसपछि व्यवस्थापनको जिम्मेवारी तोक्ने गरी निर्देशन दिन लागिएको छ,’ प्राधिकरण स्रोतले भन्यो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ २८ गते विवादास्पद व्यवसायी दीपक भट्ट तथा उनको लगानी रहेका इन्स्योरेन्स र माइक्रो इन्स्योरेन्सका सञ्चालक र सीइओविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायरसँगै सञ्चालक र सीइओ निलम्बनमा परेका कारण ती कम्पनी अहिले नेतृत्वविहीन छन्।
हिमालयन रि-इन्स्योरेन्समा सञ्चालक र व्यवस्थापकको भागाभाग छ। सीइओ उपासना पौडेलविरुद्ध मुद्दा दायर भएपछि हिमालयन रि-इन्स्योरेन्सले मुकेश कुमार कपुरलाई कामु सीइओको जिम्मेवारी दिएकामा उनले सोमबार राजीनामा दिएका छन्। उनी नायब प्रमुख कार्यकारी अधिकृतबाट पनि राजीनामा दिएर कम्पनीबाटै बाहिरिएका छन्। कपुर सन् २०२१ देखि कम्पनीमा कार्यरत थिए।
हिमालयन रि-इन्स्योरेन्समा संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक रहेका दीपक कुमार मिश्रले राजीनामा दिएका छन् भने अर्को संस्थापक सेयरधनी टेलि डिरेक्ट प्रालिले आफ्नो तर्फबाट सञ्चालक रहेका पृथ्वीराज थापालाई फिर्ता बोलाएको छ।
लिबर्टी माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीइओ र सञ्चालक पनि सम्पत्ति शुद्धीकरणको मुद्दापछि निलम्बनमा छन्।
नेपाल रि-इन्स्योरेन्सका सीइओ सुरेन्द्र थापा निलम्बन परेपछि नायब सीइओ दामोदर भण्डारीले कामु सीइओको रुपमा काम गर्दै आएका छन्।









