लन्डन। बेलायतका प्रधानमन्त्री तथा सत्तारुढ लेबर पार्टीका नेता किर स्टार्मरले पदबाट राजीनामा दिने भएका छन्। सोमबार उनले पार्टी नेतृत्व छाड्ने र केही साताभित्र प्रधानमन्त्री पदबाट पनि बिदा हुने घोषणा गरेका हुन्।
सन् २०२४ को आमनिर्वाचनमा भारी बहुमतसहित सत्तामा पुगेका स्टार्मर आफ्नै दलभित्र बढ्दो असन्तुष्टिको दबाबपछि पदत्याग गर्न बाध्य भएका हुन्। स्टार्मरले नयाँ लेबर नेता चयन नभएसम्म आफू कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहने बताए। अहिलेको अवस्थामा पूर्व ग्रेटर म्यानचेस्टर मेयर एन्डी बर्नहम उनको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका छन्।
स्टार्मरले प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटबाहिर सम्बोधन गर्दै भने, ‘मेरो पार्टीले अहिले सोधिरहेको प्रश्न भनेको आगामी आमनिर्वाचनसम्म हामीलाई नेतृत्व गर्न म नै उपयुक्त व्यक्ति हुँ कि होइन भन्ने हो। मैले मेरो संसदीय दलको उत्तर सुनेँ र त्यसलाई सम्मानपूर्वक स्वीकार गर्छु।’
उनले आफ्नो निर्णयबारे बेलायतका संवैधानिक राजा चार्ल्स तृतीयलाई पनि जानकारी गराइसकेको बताए।
बर्नहम उत्तराधिकारी बन्ने सम्भावना बलियो
स्टार्मरको घोषणापछि एन्डी बर्नहमले आफू लेबर पार्टीको नेतृत्वका लागि उम्मेदवारी दिने पुष्टि गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “म यो प्रक्रियामा आफूलाई अघि सार्नेछु” भनेका छन्।
पूर्व स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले पनि बर्नहमलाई समर्थन गर्ने घोषणा गरेका छन्। त्यसले बर्नहमलाई नेतृत्व प्रतिस्पर्धाबिनै चयन गरिने सम्भावना बढाएको छ।
गत साता सम्पन्न विशेष संसदीय निर्वाचन जितेर संसदमा प्रवेश गरेका बर्नहमले सुरुदेखि नै स्टार्मरको नेतृत्वलाई चुनौती दिने उद्देश्य राखेका थिए। यद्यपि नेतृत्व चयनका लागि अन्य उम्मेदवार मैदानमा उत्रिने वा नउत्रिने अझै स्पष्ट छैन।
स्टार्मरका अनुसार नेतृत्व चयन प्रक्रियाका लागि जुलाई ९ देखि उम्मेदवारी दर्ता खुला हुनेछ र संसद् गर्मीयामको अवकाशबाट सेप्टेम्बर १ मा फर्किनुअघि नयाँ नेता चयन भइसक्नेछ।
यद्यपि वेस स्ट्रिटिङले प्रतिस्पर्धा भए आफू पनि उम्मेदवार बन्ने बताएका छन्। तर बर्नहमप्रति समर्थन अत्यधिक देखिएमा उनले आफ्नो निर्णय पुनर्विचार गर्न सक्ने संकेत दिएका छन्।
चुनावी वाचा पूरा गर्न नसकेको आरोप
सत्तामा आएको दुई वर्षमै स्टार्मरले आर्थिक वृद्धि, कमजोर सार्वजनिक सेवा सुधार तथा बढ्दो जीवनयापन खर्च नियन्त्रणजस्ता मुख्य चुनावी प्रतिबद्धताहरू पूरा गर्न नसकेको आलोचना खेप्दै आएका थिए।
जेफ्री एप्स्टिनसँग सम्बन्धित विवादास्पद राजनीतिक व्यक्तित्व पिटर म्यान्डेलसनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले पनि उनको नेतृत्वमाथि प्रश्न उठाएको थियो।
लेबर पार्टीले उदारवादी मतदाताको समर्थन हराउँदै गएको छ भने आप्रवासनविरोधी नेता निगेल फराजको नेतृत्वमा रहेको रिफर्म यूके पार्टी राष्ट्रिय जनमत सर्वेक्षणहरूमा अग्रस्थानमा देखिन थालेको छ।
सम्भावित बहिर्गमनमा ट्रम्पको टिप्पणी
स्टार्मरको सम्भावित बहिर्गमनबारे औपचारिक घोषणा हुनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए।
ट्रम्पले लेखेका थिए, ‘किर स्टार्मरले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन्। उनी दुई महत्त्वपूर्ण विषय आप्रवासन र ऊर्जा (उत्तरी सागरको तेल उत्खनन खोल्ने)मा नराम्ररी असफल भए। उनलाई शुभकामना।’
हालैका महिनाहरूमा इरान युद्धलगायतका विषयमा बेलायत र अमेरिकाबीच मतभेद बढेसँगै स्टार्मर र ट्रम्पबीचको सुरुआती मैत्रीपूर्ण सम्बन्ध पनि चिसिएको थियो।
अन्तर्राष्ट्रिय भूमिकाको भने प्रशंसा
घरेलु राजनीतिमा आलोचना खेपे पनि अन्तर्राष्ट्रिय स्तरमा स्टार्मरको भूमिकाको प्रशंसा हुँदै आएको छ। विशेषगरी रुसविरुद्धको युद्धमा युक्रेनलाई समर्थन जुटाउन युरोपेली देशहरूलाई एकजुट बनाउन उनले सक्रिय भूमिका खेलेका थिए।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले स्टार्मरको प्रशंसा गर्दै सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘धेरै नेताहरूलाई एउटा राजनेतामा रूपान्तरण हुन वर्षौं लाग्छ, तर तपाईंले दुई वर्षमै त्यो स्थान बनाउनुभयो। युरोप र युक्रेनको सुरक्षा तपाईंका कारण अझ बलियो भएको छ।’
पार्टीभित्र मिश्रित प्रतिक्रिया
लेबर पार्टीका धेरै सांसदले बर्नहमलाई समर्थन गरे पनि केहीले स्टार्मरमाथि अन्याय भएको टिप्पणी गरेका छन्। लन्डनका सांसद नील कोयलले सामाजिक सञ्जालमा लेख्दै पार्टीभित्रको शक्ति संघर्ष र सञ्चारमाध्यमको दबाबको आलोचना गरेका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, ‘अर्को नेताले पनि ट्रम्प, इरान, युक्रेन, पुटिन, मस्क वा सञ्चारमाध्यमका चुनौतीहरू रातारात समाधान गर्न सक्ने छैनन्।’
स्टार्मरको बहिर्गमनसँगै बेलायतले पछिल्लो एक दशकमा कार्यकाल पूरा नगरी पद छाड्ने छैटौं प्रधानमन्त्री पाउने भएको छ। यो घोषणा बेलायतले युरोपेली संघ छाड्ने ‘ब्रेक्जिट’ जनमतसंग्रहको १०औँ वर्षगाँठको पूर्वसन्ध्यामा आएको छ, जसले अझै पनि बेलायती राजनीति र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ। (एपी)









