कोरोला नाका जोड्ने सडकका अधिकांश अवरोध हटाइयो, बाटो एक सातामा ‘क्लियर’ हुने

बिजमाण्डू
२०८३ असोज १६ गते १३:३८ | Oct 2, 2026
कोरोला नाका जोड्ने सडकका अधिकांश अवरोध हटाइयो, बाटो एक सातामा ‘क्लियर’ हुने


काठमाडौं। लगातारको वर्षाका कारण क्षति पुगेका कालीगण्डकी करिडोरका अधिकांश सडक सञ्चालनमा आएका छन्।

Vigo
GBIME
Tata

कालीगण्डकी करिडोरको मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डका विभिन्न स्थानमा असोज ८-११ को वर्षाले पहिरो जानुका साथै कटान भएकामा अधिकांश स्थानमा अवरोध हटाइएको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना)का अनुसार करिडोरका ४६ स्थानमा पहिरो गएकामा अधिकांश स्थानमा पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।

सडकको माथिबाट लेदो तथा पहिरो खसेका लाटाखोला, फसे, जुकुखोला, केराबारी, गलेश्वर, महभीर, नौनीबगर, दाना, लाटोखोला, अग्से, कोखेभीर, खहरेखोला, घासा, कैकुखोला, लेतेखोला, पाण्डाखोला, एकलेभट्टी, कागबेनीलगायत स्थानमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको छ।

यस्तै, कालीगण्डकी नदीको उच्च बहावका कारण लामाखेत, बेगखोला, भिरकाटे, तातोपानी कुण्ड, नाच्याङ, खाँतीभित्ता लगायत स्थानमा कटान भएकामा केही स्थानमा ग्याबियन, फिलिङ तथा नयाँ ट्र्याक निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको छ भने केही स्थानमा निर्माण कार्य जारी छ।

बेगखोलामा पहिरोसँगै कालीगण्डकी नदीको उच्च बहावले सडक कटान गरेपछि ग्याबियन निर्माण तथा फिलिङको काम भइरहेको छ। त्यहाँ एक्स्काभेटर र लोडर एकएक वटा तथा टिपर दुईवटा परिचालन गरिएको छ।

नाच्याङमा पनि ग्याबियनसहित फिलिङ तथा पुलतर्फ कटान नियन्त्रणको काम भइरहेको योजनाले जनाएको छ। त्यहाँ दुई वटा एक्स्काभेटर, दुईवटा लोडर र दुईवटा टिपर परिचालन गरिएको छ।

पोखरेबगरमा पुलको लेफ्टबायाँतर्फको पहुँच सडक बगाएपछिले पुनर्निर्माणको काम भइरहेको छ। त्यहाँ एक्स्काभेटर र लोडर एक एक वटा तथा टिपर दुईवटा परिचालन गरिएको छ। भिरकाटेमा कालीगण्डकीको उच्च बहावले सडक कटान गरेकाले ग्याबियन निर्माण भइरहेको छ।

माथिल्लो मुस्ताङतर्फ विभिन्न स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। घमी, चराङ, छोसेर र नेचुङ भन्सार घुम्ती क्षेत्रमा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ।

बाँकी ठाउँको अवरोध एक हप्ताभित्र हटाइ सक्ने योजनाले जनाएको छ। बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल सञ्चालनमा ल्याउन पहुँच सडकको फाउन्डेसन निर्माणका लागि पुलको माथिल्लो भागमा ठूला ढुंगा राख्ने तथा ग्याबियन जाली भरेर संरचना निर्माण गर्ने काम भइहेको छ। पुलको तल्लो भागबाट आवश्यक ठूला ढुंगा ल्याउन ट्र्याक खोलिएको छ।

बेनी-जोमसोम-कोरला सडक क्लियर नहुँदा चीनबाट ल्याएका सामान बीच बाटोमा अलपत्र परेका छन्।