इरानसँग बराबरीमा रोकियो १० खेलाडीमा समेटिएको बेल्जियम, समूहमै निस्किएको छैन कुनै जित



बिजमाण्डू
२०८३ असार ८ गते ०३:०० | Jun 22, 2026
इरानसँग बराबरीमा रोकियो १० खेलाडीमा समेटिएको बेल्जियम, समूहमै निस्किएको छैन कुनै जित
प्रतिस्पर्धामा बेल्जियम र इरानका खेलाडी। Photo: FIFA

काठमाडौं। इरान र बेल्जियम बराबरीमा रोकिएका छन्। विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेलेका हुन्।

Tata
GBIME
Nepal Life

अमेरिकाको लस एन्जलसमा सोमबार बिहान सम्पन्न खेलमा बेल्जियमले अधिकांश समय बल नियन्त्रणमा राखे पनि इरानी गोलरक्षक अलिरेजा बेइरानभन्दको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन।

खेलको सुरुआतदेखि नै बेल्जियम आक्रामक देखिएको थियो। केभिन डी ब्रुएना, रोमेलु लुकाकु र लिएन्ड्रो ट्रोसार्डको नेतृत्वमा बेल्जियमले लगातार अवसर सिर्जना गर्‍यो। तर, इरानको बलियो डिफेन्स र गोलकिपिङले बेल्जियमलाई निराश बनाइरह्यो।

तेस्रो मिनेटमै डी ब्रुयनेको क्रसमा बल भेट्ने प्रयास गर्दा लुकाकुले गोलरक्षक बेइरानभन्दलाई छातीमा चोट पुर्‍याएका थिए। यसमा उनले पहेँलो कार्ड पनि पाए। त्यसपछि पनि बेल्जियमले निरन्तर दबाब कायम राख्यो तर गोल निकाल्न सकेन।

इरानले २५औं मिनेटमा अग्रता लिएको जस्तो देखिएको थियो। कप्तान एहसान हाजसाफीको फ्रिकिक पासमा मेहदी तारेमीले सुन्दर फिनिस गरेका थिए। भीएआर जाँचपछि उनी अफसाइड रहेको देखिँदा गोल रद्द भयो।

पहिलो हाफभर बेल्जियमले करिब ८० प्रतिशत बल नियन्त्रण राख्यो र ११ प्रहार गर्‍यो। तर इरानले अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्दै खेललाई ०–० को बराबरीमा राख्यो।

दोस्रो हाफमा पनि बेल्जियमले गोलका अवसर सिर्जना गरिरह्यो। ५९औं मिनेटमा डी ब्रुयनेको उत्कृष्ट पासमा म्याक्सिम डी कुइपरले नजिकैबाट गरेको प्रहारलाई बेइरानभन्दले अविश्वसनीय बचाउ गर्दै इरानलाई संकटबाट जोगाए।

खेलको ६६औं मिनेटमा भने बेल्जियम ठूलो दबाबमा पर्‍यो। युवा डिफेन्डर नाथन एन्गोयले तारेमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोकेपछि सिधै रातो कार्ड पाए। त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भयो।

एक खेलाडी बढी भएपछि इरानले आक्रमणको तीव्रता बढायो। रेजाइयान, तारेमी र एजातोलाहीले बेल्जियमको पोस्टमा दबाब सिर्जना गरे पनि गोल गर्न सकेनन्। बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले पनि केही महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई हारबाट जोगाए।

इन्जुरी समयमा बेल्जियमले जित निकाल्ने अन्तिम प्रयास गर्‍यो। डोडी लुकेबाकियोको कर्लिङ प्रहार गोलपोस्टबाट केही सेन्टिमिटर बाहिरिएपछि खेल गोलरहित बराबरीमा सकियो।

यो नतिजापछि समूह जीका चारै टोलीको अवस्था रोचक बनेको छ। यो समूहमा ३ खेल सकिँदा सबै बराबरीमा रोकिएका छन्। बेल्जियम र इरान दुवैले दुई खेलबाट दुई-दुई अंक जोडेका छन् भने अन्तिम खेलले नकआउट चरण पुग्ने टोलीको टुंगो लगाउनेछ। यसअघि बेल्जियमले इजिप्ट र इरानले न्युजिल्याण्डसँग बराबरी खेलेको थियो। न्युजिल्याण्ड र इजिप्ट आजै पौने ७ बजे मैदान उत्रनेछन्।