काठमाडौं। सुनको भन्सार महसुल २० प्रतिशत पुर्याएपछि दुबईबाट ल्याउँदा तोलामै ६० हजार सस्तो पर्न थालेको छ।
दुबईमा भन्दा नेपालमा भाउ तोलामै ६० हजार महँगो भएपछि व्यवसायीले केही कमिसन दिएर दुबईबाट आउने यात्रुमार्फत सुन ल्याउन थालेका छन्।
विदेशबाट आउने यात्रुले पुरुषको हकमा २५ ग्राम र महिलाका हकमा ५० ग्राम सुन ल्याउँदा भन्सार तिर्नुपर्दैन। त्यही कारण भन्सार छल्न र उच्च नाफा कमाउन व्यवसायीहरुले यात्रुलाई प्रयोग गरी दुबईबाट सुन भित्र्याउन थालेका हुन्।
‘नेपालमा भन्दा दुबईमा सुनको भाउ तोलामा ६० हजार भन्दा बढी सस्तो छ। त्यही कारण हामीले त्यहाँबाट आउने यात्रुलाई प्रयोग गरेर सुन भित्र्याइरहेका छौं। यसो गर्दा वैदेशिक रोजगारीबाट फर्किने यात्रुले पनि दुई चार पैशा पाउँछन्। हामीलाई पनि फाइदा हुन्छ,’ एक व्यवसायीले भने।
दुबईबाट ल्याउँदा लागत सस्तो परेका कारण कतिपय व्यवसायीले ज्याला कम र जर्ती पनि नलाग्ने भन्दै सुन बेचिरहेका छन्।
व्यवसायीले यात्रुमार्फत सुन भित्र्याइरहेकै कारण बैंकले आयात गरेको सुन बिक्री हुन सकेको छैन। वाणिज्य बैंकहरूमा अहिले करिब ३० केजी सुन मौज्दात छ। बिक्री नभएकाले बैंकहरूले थप सुन आयात गरेका छैनन्।
बैंकले जेठ महिनामा सुन आयात नै गरेनन्। भन्सार विभागका अनुसार बैंकहरुले चालु आर्थिक वर्ष २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको १३५४ किलो सुन आयात गरेका छन्। त्यो सबै वैशाख मसान्तसम्म आयात गरिएको हो।
बैंकले आयात गर्दा २० प्रतिशत भन्सार तिर्नुपर्छ। तर बैंकले आयात गरेको सुन स्टक बस्दा सरकारले पनि राजस्व गुमाइरहेको छ।
सुनचाँदी व्यवसायी माणिकरत्न शाक्यले भन्सार दर बढाइएका कारण दुबईबाट सुन भित्र्याउनेहरुलाई प्रोत्साहन पुगेको र यसले सरकारलाई नै घाटा भइरहेको बताए।
‘नेपाल र दुबईको मूल्य धेरै फरक भएका कारण अब दुबई लगायत विभिन्न ठाउँबाट यात्रुमार्फत सुन भित्र्याउने क्रम बढ्छ। अहिले केही व्यवसायीले यात्रुलाई प्रयोग गरिरहेकामा अब वैदेशिक रोजगारीबाट फर्किने यात्रु आफैंले नै अरु सामानको साटो सुन ल्याउने ट्रेण्ड बढ्छ,’ शाक्यले भने, ‘तर यात्रुले तोकिएको सीमाभित्र रहेर ल्याउँदा भन्सार नलाग्ने भएकाले सरकारलाई भने घाटा हुन्छ।’
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले पनि दुबई लगायत ठाउँमा सुनको मूल्य धेरै फरक पर्दा नेपाल फर्कंदा सुन किनेर ल्याउनु स्वाभाविक भएको बताए। ‘पहिले पनि पनि विदेशबाट आउनु यात्रुले सुन ल्याएर व्यवसायीलाई केही सस्तोमा बिक्री गर्ने गरेका थिए। अहिले त दुबईबाट फर्किने यात्रुलाई व्यवसायीले नै सम्पर्क गरेर सुन ल्याउन लगाइरहेका छन्,’ उनले भने।
सुन खरिद र बिक्री गर्दा बिल अनिवार्य हुनुपर्छ। व्यवसायीले दुबईबाट यात्रुमार्फत भित्र्याएको सुन स्टकको भनेर बिक्री गर्ने गरेका छन्।
‘सरकारी टोली अनुगमनमा आउँदा बेचेको बिल देखाए हुन्छ। कर्मचारीले नै किनेको देखाउनु पर्दैन भन्ने गरेका छन्,‘ ती व्यवसायीले भने, ‘त्यसैले हामीले स्टकमा रहेको सुनले नै काम चलाइरहेका छौं भन्ने गरेका छौं।’
बैैंकले आयात गरेको बाहेक चालु आर्थिक वर्ष ३७ करोड रुपैयाँभन्दा बढीका गहना भित्रिएका छन्। यो सरकारले तोकेको सीमाभन्दा बढी ल्याएको हकमा भन्सार तिराउँदा राखिएको रेकर्ड हो। यस्तो गहना दुबईका अलावा अमेरिका, बेलायत, कतार, कोरिया, हङकङ, अष्ट्रेलिया लगायत २५ भन्दा बढी ठाउँबाट ल्याएको देखिन्छ।
व्यक्तितर्फ पुरुषका हकमा २५ ग्राम र महिलाका हकमा ५० ग्राम ल्याउँदा भन्सार तिर्नु नपर्ने कानुनी छुटको सीमाभित्र रहेर कति परिणाममा सुन भित्रियो भन्ने रेकर्ड भने भन्सार विभागसँग छैन।
नेपालमा भन्दा भारतमा पनि सुनको मूल्य तोलामा १० हजार हाराहारी सस्तो छ। त्यसैले कतिपय व्यवसायीले भारतबाट अवैधरुपमा सुन ल्याउने गरेका छन्।









