बीमा प्राधिकरण अध्यक्षको नियुक्ति होल्ड, सिफारिस समितिको बैठक नबसेपछि आवेदन अलपत्र



बिजमाण्डू
२०८३ असार १ गते १३:०५ | Jun 15, 2026
बीमा प्राधिकरण अध्यक्षको नियुक्ति होल्ड, सिफारिस समितिको बैठक नबसेपछि आवेदन अलपत्र

काठमाडौं। नेपाल बीमा प्राधिकरणमा अध्यक्षको नियुक्ति होल्ड भएको छ। प्राधिकरणका अध्यक्षको नाम सिफारिसका लागि गठित समितिले आवेदन मागेर नियुक्ति प्रक्रिया रोकेर राखेको छ।

Tata
GBIME
Nepal Life

सिफारिस समितिले जेठ १३ गते आवेदन मागेकामा अहिलेसम्म बैठक नै बसेको छैन। ‘समितिको बैठक बसेको छैन। त्यही भएर आवेदन दिएकाहरुको बायोडाटा हेरिएको छैन,’ स्रोतले भन्यो, ‘सर्टलिस्ट र सिफारिसको काम कहिले गर्ने भन्ने निश्चित भइसकेको छैन।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट नेतृत्वको समितिले जेठ १३ गते गरेको विज्ञापन अनुसार ५० जनाले आवेदन बुझाएका थिए।

समितिले आवेदकहरुमध्येबाट सर्टलिस्ट गरी अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नुपर्नेमा आवेदन नै थन्क्याएर राखिएको छ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले वैशाख ८ गते सिफारिस समिति गठन गरेको थियो। समितिमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी र अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य छन्।

प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि ९ महिना पहिले अगाडि बढाइएको सबै प्रक्रिया जेठ ६ गते रद्द गरेर समितिले विज्ञापन आह्वान गरेको थियो।

प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा अयोग्यताका कारण ६ महिनामै बर्खास्तगीमा परेपछि तत्कालीन सरकारले गठन गरेको समितिले २०८२ भदौ १४ गते अध्यक्ष पदका लागि आवेदन मागेको थियो। तर त्यसको एक सातापछि भएको जेनजी आन्दोलनले सरकार ढलेपछि प्रक्रिया रोकिएको थियो।