विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुरासाओमाथि आधा दर्जनमाथि गोल गर्दै एकतर्फी जित



बिजमाण्डू
२०८३ असार १ गते ०३:१९ | Jun 15, 2026
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुरासाओमाथि आधा दर्जनमाथि गोल गर्दै एकतर्फी जित
जर्मनी फुटबल टिम। DFB/ Max Galys

काठमाडौं। चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गत पहिलो खेलमा डेब्यु टोली कुरासाओमाथि गोल वर्षा गरेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा जर्मनीले कुरासाओलाई ७-१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको हो।

Tata
GBIME
Nepal Life

जर्मनीका लागि काई हाभर्ट्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभले समान एक गोल गरे। कुरासाओका लागि लिभानो कोमेनेन्सियाले सान्त्वना गोल फर्काए।

खेलको छैटौं मिनेटमै फ्लोरियन भिर्ट्जको पासमा एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा कोमेनेन्सियाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो गोल विश्वकप डेब्यु गरेको कुरासाओको पहिलो गोल बनेको थियो।

बराबरीपछि जर्मनीले खेलमा पुनः पकड जमायो। ३८औं मिनेटमा नाथानियल ब्राउनको कर्नरमा स्लोटरबेकले हेडरमार्फत गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा एनमेचामाथि भएको फाउलपछि प्राप्त पेनाल्टीलाई हाभर्ट्जले गोलमा परिणत गर्दै जर्मनीलाई ३–१ को आरामदायी अवस्थामा पुर्‍याए।

दोस्रो हाफको सुरुआतमै जर्मनीले अग्रता थप फराकिलो बनायो। ४७औं मिनेटमा योशुआ किमिखको सुन्दर पासमा मुसियालाले गोल गर्दै स्कोर ४–१ बनाए। त्यसपछि ६८औं मिनेटमा उन्डाभको आकर्षक ब्याकहिल पासमा ब्राउनले गोल गर्दै जर्मनीलाई ५–१ को अवस्थामा पुर्‍याए।

७८औं मिनेटमा किमिखको पासमा वैकल्पिक खेलाडी उन्डाभले गोल थपेपछि जर्मनी ६–१ ले अगाडि बढ्यो। खेल सकिन दुई मिनेट बाँकी रहँदा उन्डाभकै पासमा हाभर्ट्जले गोलरक्षक एलोय रुममाथि उत्कृष्ट चिप प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरे।

जर्मनीले खेलभर दबाब कायम राख्दै ६६ प्रतिशतभन्दा बढी बल नियन्त्रणमा राख्यो।

यो जितसँगै जर्मनीले समूह ‘ई’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। जर्मनीले अब आफ्नो दोस्रो खेलमा आइभरी कोस्टसँग खेल्नेछ भने कुरासाओले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।