काठमाडौं। न्यूरोड क्षेत्रमा सवारी पार्किङको दिगो समाधानका लागि काठमाडौं महानगरपालिकाले नेपाल वायुसेवा निगम (एनएसी)को जग्गामा बहुतले पार्किङ निर्माणको अवधारणा अगाडि सारेको छ।
काठमाडौं महानगरले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एनएसीको न्यूरोड गेटस्थित घरजग्गालाई बहुतले पार्किङ प्रयोजनमा उपयोग गर्ने अवधारणा अगाड सारेको हो।
‘सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ। नयाँ सडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ समस्याको दिगो व्यवस्थापनका लागि नेपाल वायुसेवा निगमको नयाँ सडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत पहल गरिनेछ,’ महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले भनिन्।
महानगरले विभिन्न ११ वटा क्षेत्रमा ८६ बुँदे कार्यक्रम ल्याएको छ। जसमा महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा पहिलोपटक भवन निर्माण गर्दा नक्सा पास दस्तुरमा १५ प्रतिशत छुट दिनेदेखि विभिन्न विश्वविद्यालयका विद्यार्थीलाई ‘अर्न ह्वाइल यु लर्न’को अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप र पार्टटाइम इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने लगायत विषय समेटिएका छन्।
यस्तै बैंक तथा वित्तीय संस्थाले महानगर क्षेत्रभित्रका घरजग्गा धितो राखी ऋण प्रवाह गर्दा महानगरपालिकाको विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाइने भनिएको छ।











