खेल जीवनबाट संन्यास लिँदै गोलकिपर श्रेष्ठ बने राखेपको उपाध्यक्ष, चार बोर्ड सदस्य पनि नियुक्त



बिजमाण्डू
२०८३ जेठ २८ गते ०९:४० | Jun 11, 2026
खेल जीवनबाट संन्यास लिँदै गोलकिपर श्रेष्ठ बने राखेपको उपाध्यक्ष, चार बोर्ड सदस्य पनि नियुक्त

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्रिय टोलीबाट संन्यास लिएका श्रेष्ठले घरेलु फुटबलबाट पनि संन्यास लिँदै राखेपको उपाध्यक्षको जिम्मेवारी पाएका हुन्।

Tata
GBIME
Nepal Life

घरेलु फुटबलसँगै श्रेष्ठले पछिल्लो समय कपनमा नर्थस्टार फुटबल एकेडेमी चलाउँदै आएका थिए। पछिल्लो समय उनी ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब र नेपाल सुपर लिगमा एफसी चितवनमा थिए।

उनीसँगै मन्त्रालयले ४ जना बोर्ड सदस्यलाई पनि नियक्त गरेको छ। विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले सदस्य पनि नियुक्त गरेको मन्त्रालयले जनाएको छ।

नियुक्त हुनेहरूमध्ये सिक्का सुवाल टेबल टेनिस खेलाडी हुन्। त्यस्तै, शक्ति गौचन सन् २०१४ मा नेपालले टी-२० विश्वकप खेल्दाका महत्त्वपूर्ण खेलाडी हुन्। पछिल्लो समय उनी प्रशिक्षणमा लागेका थिए। गौचनले नेपाल क्रिकेट संघको रुपन्देहीको अध्यक्ष बन्न चुनाव लडे पनि यही हप्ता पराजित भएका थिए।

त्यस्तै, मोनालिसा खुम्बु बुद्धिचालको पहिलो महिला राष्ट्रिय च्याम्पियन हुन्। उनले हिमालयन चेस एकेडेमी नामको चेस एकेडेमी चलाउँदै आएकी छिन्। फुटबल खेलाडी पवन शाही जेन्जी आन्दोलनका घाइते हुन्।