एक दिन बढ्दा पाँच दिन सम्म घट्न थाल्यो सेयर बजार, पछिल्लो २० कारोबार दिनमा १४ दिन घटेर बन्द



बिजमाण्डू
२०७८ असार २३ गते १५:३९ | Jul 7, 2021
एक दिन बढ्दा पाँच दिन सम्म घट्न थाल्यो सेयर बजार, पछिल्लो २० कारोबार दिनमा १४ दिन घटेर बन्द

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजारको पछिल्लो ट्रेण्ड हेर्दा बजारको दिशा परिवर्तन भइसकेको छ। एक महिना अघि सम्‍म १ दिन घट्दा पाँच दिन सम्म बढ्ने सेयर बजार अहिले भने एक दिन बढ्दा पाँच दिन सम्म घटिरहेको छ।

बुधबार करिब १७ अंकले घटेको नेप्से २८०१ बिन्दुमा रोकिएको छ। बुधबारको गिरावट यो हप्ताको लगातार चौथो हो। चार  दिनमा बजार ४२ अंकले घटेको छ।

कारोबार रकम पनि यो हप्ता पछिल्लो समयकै सबैभन्दा कम भइरहेको छ। दैनिक औसत चार अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भइरहेको छ।
बुधबार २२२ कम्पनीको ६४ लाख कित्ता सेयर चार अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएका छन्। ५४ कम्पनीको मूल्य बढ्दा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

लघुवित्त समूहका धेरैजसो कम्पनीको सेयर मूल्य बढ्दा जलविद्युत समूहका धेरै जसो कम्पनीको सेयर मूल्य घटेको छ। उद्घाटन भएपछि तामाकोशीको सेयर मूल्य भने लगातार घटिरहेको छ। उद्घाटन अघि ७८४ रुपैयाँ रहेको तामाकोशीको सेयर मूल्य बुधबार  थप ५ प्रतिशतले घटेर ६७७ रुपैयाँमा झरेको छ।

छिमेक लघुवित्तको सर्वाधिक ४३ करोड रुपैयाँको किनबेच हुँदा तामाकोशीको २६ करोड, हिमालयन डिष्टिलरीको २३ करोड, पुनर्बीमा कम्पनीको १४ करोड र निर्धन उत्थान लघुवित्तको पनि करिब १४ करोड रुपैयाँकै सेयर किनबेच भएको छ।