
वीरगंज। नेपाल सरकारले कोभिसिल्ड खोप ल्याउन ढिलाई गर्दा पहिलो डोज लगाएका नेपाली नागरिक कोभिसिल्डको दोस्रो डोज लगाउन भारतीय सीमा नजिकका बस्तीका नेपालीहरु सीमापारी जाने गरेका छन् ।
खास गरी तराईका जिल्लाका बासिन्दाहरु भारतीय सीमावर्ती बजारमा पहुँच र पैसाको बलमा कोभिसिल्ड लगाइरहेका छन् ।
मध्य-तराईका जिल्ला,पर्सा,बारा,रौतहटका धेरै जनाले भारतीय बजार रक्सौल, घोडासहन, बरगिनियामा गएर दोस्रो खोप लगाइरहेका छन् ।
पहिलो खोप लगाएको चार महिनाभित्र दोस्रो डोज नलगाएपछि कोभिसिल्डको प्रभावकारिता समाप्त हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। सरकारले खोप भित्र्याउन नसक्दा पहिलो डोज लगाएर प्रतीक्षामा बसेकाहरुले दोस्रो डोज कहिले पाउने भन्ने टुंगो छैन। त्यसैकारण कतिपय नेपाली नागरिकले अवैध किसिमले भारतमै कोभिसिल्ड लगाउन जाने गरेको नारायणी अस्पतालका चिकित्सकहरुले बताउँछन् ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार खोप खोजी गर्नेहरुलाई ठग्न बिचौलिया सक्रिय भएका छन्।। ‘यसलाई अपराध भन्ने कि बाध्यता, कोरोना संक्रमणबाट बच्न अहिलेसम्म खोपलाई नै विकल्पको रुपमा लिइरहेको छ,’ उनले भने, ‘सरकारले एक त ल्याउन सकिरहेको छैन, अर्कोतर्फ समय पनि बित्दै छ।’ कोभिसिल्ड लगाउन सीमा पारी जानेहरुको पनि मजबुरी भएकाले उनीहरुले त्यस्तो गरिरहेको स्पष्ट पारे ।
भारतले आफ्ना नागरिकका लागि कोभिडविरुद्ध खोप अभियान चलाएको छ। बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको रक्सौल पूर्ण खोप नगरपरिषद् पनि घोषणा भए पनि छुटेकाहरुका लागि दिने काम भइरहेको छ। रक्सौलमा केसिटिसी कलेज, आदर्श टिकाकरणलगायत करिब आधा दर्जन केन्द्रबाट खोप दिने काम भइरहेको हो।
बिचौलियाको सहारामामा एउटा डोजको २२ सय रुपैयाँ तिरेर नेपालीहरु खोप लगाइरहेका छन्। दोहोरो नागरिकता वा परिचयपत्र भएकाहरुले आफू र आफनो परिवारको सदस्यलाई सहजै खोप दिलाउन सफल हुने गरेका छन् भने अर्को समूह बिचौलियामार्फत खोप खरिद गरी लिने गरेको बुझिएको छ।
बिहारमा मृत्यु भएका भारतीय नागरिक, विदेश गएका, रोजगारीको सिलसिलामा नेपालमा बसोबास गर्ने भारतीय आदिको अधारकार्डको गलत प्रयोग गरी उनीहरुको ठाउँमा नेपालीलाई खोप दिलाउन बिचौलिया सक्रिय छन्। भास्कर दैनिकका रक्सौलको संवाददाता राजेश बर्माले केही स्वास्थ्यकर्मीहरुले बिचौलियाका रूपमा काम गरिरहेको दाबी गरे ।
‘फर्जी कागजातको अधारमा नेपाली नागरिकहरुले भ्याक्सिन लिइरहेका छन्,यसलाई रोक्नु पर्छ,’ उनले भने,‘कतिपय केसमा रक्सौलबाट कोभिसिल्डको भायल पनि वीरगंजमा लगेर लगाउने गरिएको सूचना पाएका छौं।’ एक भायलमा ५ एमएल हुन्छ, ०.५ एमलको दरले १० जनाले लगाउन मिल्छ । 'एउटा भायल २२ हजारमा ल्यायो, १० जनाले लगाउँछन्।'-उनले बताए ।
वीरगंजका उद्योगी,व्यवसायी तथा भारतमा आफन्तजन हुने परिवार वा भारतमा काम गर्नेहरु यस्तो कार्यमा बढी सक्रिय रहेकाे उनले बताए। उनले रक्सौलमा टिकाकरण कार्यक्रम अन्तिम चरणमा रहेकाले यो गतिविधि पनि केही समयमै बन्द हुने जानकारी समेत दिए।










