वीरगंजको २३ किलो सुन प्रकरण: रक्सौलका विधायकका भाई र भतिजीमाथि १८ करोडको मुद्दा दायर



बिजमाण्डू
२०७८ असार ११ गते १३:१३ | Jun 25, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंजको २३ किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ।

वीरगंज-५ रेशमकोठी चोकमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट २०७७ असोज ३० गते बरामद भएको २२ किलो ९९७ ग्राम सुन र १ किलो ७८ ग्राम चाँदी सम्बन्धमा रक्सौलका अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध मुद्दा दायर गरेको हो।

अभियुक्तहरूबाट १८ करोड ६५ लाख २ हजार बिगो असुलको मागसहित हदैसम्मको कारबाहीको माग गरिएको छ।

भन्सार छलेर ल्याएको सुन, गरगहना अवैध कारोबार गरेर सिन्हा र निजकी छोरीले राज्यको करोडौं रुपैयाँ नोक्सानी पुर्‍याएको राजस्व विभागको दाबी छ।

अशोक सिन्हा रक्सौलमा भारतीय जनता पार्टीबाट निर्वाचित विधायक प्रमोद सिन्हाका सहोदर भाइ हुन्।

सुन बरामद भएको ८ महिना बितिसक्दा पनि प्रहरीले हालसम्म अशोक सिन्हा र निजकी छोरी निवेदिकालाई पक्राउ गर्न सकेको छैन।

नेपाल प्रहरीले उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्ने पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।