बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि कार्यविधि बनाउँदै सिफारिस समिति



बिजमाण्डू
२०८३ जेठ ८ गते १७:१४ | May 22, 2026
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि कार्यविधि बनाउँदै सिफारिस समिति


काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षको नाम सिफारिसका लागि गठित समितिले कार्यविधि बनाउन थालेको छ। स्रोतका अनुसार आगामी साता बस्ने समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिनेछ।

Tata
GBIME

‘समितिको निर्देशन अनुसार सचिवालयले कार्यविधिको मस्यौदा बनाइरहेको छ। समितिको अर्को बैठकले कार्यविधि पास गरेर त्यहीअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी छ,’ स्रोतले भन्यो।

समितिले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ९ महिना पहिले अगाडि बढाइएको सबै प्रक्रिया जेठ ६ गते रद्द गरेको थियो।

प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा अयोग्यताका कारण ६ महिनामै बर्खास्तगीमा परेपछि तत्कालीन सरकारले गठन गरेको सिफारिस समितिले २०८२ भदौ १४ गते अध्यक्ष पदका लागि आवेदन मागेको थियो। तर त्यसको एक सातापछि भएको जेनजी आन्दोलनले सरकार ढलेपछि प्रक्रिया रोकिएको थियो।

चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन्।

नयाँ सरकारले प्राधिकरण अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाउन वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो।

समितिमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी र अर्थसचिव डा.घनश्याम उपाध्याय सदस्य छन्।