न महँगो बिलेट आयात न त उत्पादन नै, तैपनि आकासियो डन्डीको मूल्य, किलोकै ११० रुपैयाँ



उन्नत सापकोटा/बिजमाण्डू
२०७८ जेठ ११ गते २०:५५ | May 25, 2021
न महँगो बिलेट आयात न त उत्पादन नै, तैपनि आकासियो डन्डीको मूल्य, किलोकै ११० रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ को दोस्रो लहरको कहरसँगै अक्सिजन अभाव गहिरिएपछि उद्योगसँग भएका अक्सिजन सिलिन्डर सरकारले फिर्ता लग्नुको असर अहिले डन्डीको बजार मूल्यमा देखिएको छ। 

निषेधाज्ञासँगै अक्सिजन सिलिन्डर नभएपछि उद्योग बन्द हुँदा अहिले बजारमा डन्डीको उपभोक्ता मूल्य किलोको कम्तिमा १०४ रुपैयाँदेखि ११३ रुपैयाँसम्म पुगेको नेपाल निर्माण सामग्री व्यापार महासंघका महासचिव शिवप्रसाद मानन्धरको भनाइ छ। पछिल्लो समय उद्योगीहरुले नै डन्डीको मूल्य बढाएकाले उपभोक्ता मूल्य महँगो भएको उनले बताए ।

प्रायः उद्योगीहरुको जिकिरअनुसार भने डन्डीको भाउ आकासिनुको एउटा कारण काठमाडौंसहित देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लाग्नु हो। केही उद्योगीहरुको भनाइमा डन्डीको कच्चा पदार्थ बिलेटको अन्तर्राष्ट्रिय मूल्य नै आकाशिएकाले पनि नेपाली बजारमा डन्डी महँगिएको छ। 
साख स्टिलका प्रबन्ध निर्देशक किरण साख भन्छन्, 'पहिले बिलेटको भाउ ४०० डलर हुँदा डन्डीको मूल्य किलोको ७५ रुपैयाँ हाराहारी मात्र थियो। अहिले बिलेट महँगिएर ६०० डलर पुगिसकेको छ। त्यसैले डन्डीको फ्याक्ट्री मूल्य नै किलोको कम्तिमा ९२ रुपैयाँ छ।'

केही महिनाअघि बिलेटको भाउ पाँच सय डलरभन्दा तल रहेको बेला डन्डीको मूल्य पनि ८० रुपैयाँ हाराहारी मात्र थियो। केही दिनअघि ६ सय ३५ अमेरिकी डलरसम्म पुगेको बिलेटको मूल्य अहिले पाँच सय ८५ डलर हाराहारीमा ओर्लिएको भए पनि अझै यो उच्च नै रहेको उद्योगीहरुको भनाइ छ।

तर तत्काल डन्डीको नयाँ उत्पादन नभएकाले उद्योगहरुले बिलेट आयात रोकेका छन्। बिलेट आयात नै नभएकाले अहिले बजारमा बिक्री भएरहेको तथा उद्योगहरुसँग स्टकमा रहेको डन्डीको मूल्यमा अहिले यसको प्रभाव सामेल छैन। 

यसका बाबजुद बिलेटको अन्तर्राष्ट्रिय मूल्यअनुसार रियल टाइममा यहाँको उत्पादन तथा यसको मूल्य प्रभावित नहुने भएकाले बिलेटको मूल्य पारि बढ्नेबित्तिकै यहाँ डन्डीको मूल्य बढाउनु न्यायसंगत भने छैन्।

उद्योगहरुमा रहेका अक्सिजन सिलिन्डर सरकारले फिर्ता लगेपछि अहिले डन्डी उद्योगहरु बन्द छन्। त्यसयता स्टकमा रहेकै उत्पादन बिक्री गरिरहका उद्योगीहरुले डन्डीको मूल्य बढाएका छन्। 

उद्योगका लागि अत्यावश्यक अक्सिजन नभएपछि शंकर समूहको जगदम्बा स्टील, अम्बे समूहको अम्बे र जय अम्बे, पशुपति आइरन र अन्य हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टील, प्रिमियर वायर, प्रिमियर स्टील, श्री स्टील, लक्ष्मी स्टील, साखः स्टिल, पञ्चकन्या स्टिल लगायतले उत्पादन नै बन्द गरेका छन्। 

उत्पादन बन्द भएपछि उद्योगहरुले अहिले स्टकमा रहेको डन्डी बिक्री गरिरहेको बताएका छन्। 

साखका अनुसार, नेपालमा अहिले करिब दुई दर्जन स्टिल उद्योगहरुले डन्डी उत्पादन गर्छन् । तीमध्ये अधिकांशले एक सातादेखि बढीमा १५ दिनका लागि मात्र स्टक राख्न सक्ने र केहीले महिना दिनसम्मको स्टक राख्न सक्छन् । महिना दिनसम्मको ठूला उद्योगहरुले मात्रै स्टक राख्न सक्छन्।

अम्बे स्टिल्सले हार्डवेयरलाई (थोकमा) भ्याट र करबाहेक नै ९५ रुपैयाँमा डन्डी बिक्री गरिरहेको कम्पनीका निर्देशक शिवाज न्यौपानेले बताए। सो मूल्यमा होलसेलरले केही मार्जिन राखेर उपभोक्तालाई बिक्री गर्ने भएकाले डन्डीको प्रतिकिलो मूल्य १ सय ५ रुपैयाँ नाघेको छ।

पञ्चकन्या स्टिलले उत्पादन गर्ने डन्डीको बजार मूल्य पनि किलोको ११० रुपैयाँ हाराहारी नै रहेको पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए।

उद्योगसँगै निषेधाज्ञाका कारण निर्माण सामाग्री पसलहरु पनि बन्द भएकाले सेल्स घटेको अम्बेका न्यौपानेले जानकारी दिए। निषेधाज्ञापछि डन्डी बिक्री २० प्रतिशतमा ओर्लिएको उनको भनाइ छ। 'निषेधाज्ञाअघि एक हजार टन डन्डी बिक्री गरिरहेको भए पनि अहिले एकदेखि दुई सय टन मात्रै बिक्री भइरहेको छ,' न्यौपानेले भने। 

सिमेन्टको मूल्य स्थिर
सिमेन्टको मूल्य भने अहिले पनि स्थिर नै रहेको पाइएको छ। निषेधाज्ञाका कारण ढुवानी भाडाका कारण मूल्य केही बढे पनि सिमेन्टको भाउ स्थिर नै रहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए। 

अहिले विभिन्न कम्पनीले पीपीसी सिमेन्ट ५५० देखि ६५० रुपैयाँ (फ्याक्ट्री मूल्य) मा  बिक्री गरिरहेको उनले जानकारी दिए। निषेधाज्ञाका कारण ढुवानी गर्न सहज यातायातका साधन नपाउँदा मूल्य केही बढ्ने अवस्था रहेको उनको भनाइ छ। 

सिमेन्ट उद्योगहरुले कामदारहरुलाई आवासीय बसोबासको व्यवस्था गरेर उत्पादन गरिरहेको बताएका छन्। 

सिमेन्टको वार्षिक माग एक करोड टन रहेकोमा गत वर्षदेखि कोरोना संक्रमणको असर तथा यसको नियन्त्रणका लागि विभिन्न समयमा लगाइएको लकडाउन र निषेधाज्ञाले असर पुर्‍याउँदा माग आधाले घटेर ५० देखि ६० लाख टनमा झरेको उद्योगीहरुको भनाइ छ। 

निषेधाज्ञाका कारण सरकारीस्तरबाट निर्माण भइरहेका परियोजनाहरु सञ्चालन भइरहे पनि निजी संस्था तथा व्यक्तिले गरिरहेको निर्माणको काम अहिले ठप्प छन्। काठमाडौं उपत्यकाको हकमा निषेधाज्ञाको अवधिमा आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर निर्माण कार्य सञ्चालन गर्न सरकारले छुट दिएको छ ।

यस्तै, निर्माण सामाग्री ढुवानीका साधन राती १० बजेदेखि बिहान चार बजेसम्म मात्र आवतजावतको अनुमति दिएको छ। तर, अवस्था सामान्य नभएकाले निजीस्तरका परियोजनाको काम लगभग ठप्प भएकाले निर्माण सामग्रीको माग छैन।