(1)(2)(1)(13).jpg)
काठमाडौं। क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र संचालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच सहमति भएको छ।
केन्द्र स्थापना एवं संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरले विहीबार हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल पनि सहभागी थिए। यो आइसोलेसन केन्द्र आइतवारबाट संचालनमा आउने र ५० बेड हुने महासंघले जनाएको छ।
महासंघका अनुसार आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुर्यांइनेछ। केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइशोलेशन सेवा प्रदान गरिने महासंघले जनाएको छ।
केन्द्रमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुने महासंघले जनाएको छ।सहमति अनुसार वडा कार्यालयले चिकित्सक/नर्स परिचालन ,विरामी रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खाना व्यवस्थापन, आपतकालिन वा आकस्मिक उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने छ भने महासंघले केन्द्र संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ।
केन्द्रको लागि हुने खर्च एवं खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको र उक्त समितिमा भक्त बहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य छन्। महासंघका अध्यक्ष गोल्छाले केन्द्र संचालनबाट कोभिड संक्रमित विरामीहरूलाई ठूलो राहत हुने बताए।










