काठमाडौं। नेपाल रि-इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सुरेन्द्र थापाकै ‘सेटिङमा’ हिमालयन रि-इन्स्योरेन्सलाई एकपछि अर्को बिजनेस दिएको पाइएको छ।
सीइओ थापाले नेपाल रिको व्यवसाय सुम्पिनुका साथै हिमालयन रि-इन्स्योरेन्सलाई ठूलो रकम भुक्तानी नै दिएको पाइएको हो।
नेपाल रि-इन्स्योरेन्सको नाफाको बिजनेस रहेको ‘थर्ड पार्टी’ इन्स्योरेन्सको भुक्तानीबापत थापाले हिमालयन रिलाई भुक्तानी दिएका हुन्।
मोटर बीमा अन्तर्गत तेस्रो पक्ष बीमाको सामूहिक बीमा कोष (पुल) को व्यवस्थापन नेपाल रिले गर्दै आएकामा थापाले गैरकानुनी रुपमा हिमालयन रिलाई भुक्तानी दिएका हुन्।
तेस्रो पक्ष बीमाको पुल व्यवस्थापनको काम अहिले पनि नेपाल रिले गर्दै आएको छ। २०७६ देखि तेस्रो पक्ष बीमाको सामूहिक बीमा कोषको व्यवस्थापन गर्दै आएको नेपाल रिका लागि यो नाफाको बिजनेस हो।
तर, थापाले केही कर्मचारीसँग सेटिङमा बिचौलिया दीपक भट्ट र उनका साझेदार शंकर ग्रुपसहित व्यावसायिक समूहको लगानी रहेको हिमालयन रिलाई नेपाल रिबाट रकम भुक्तानी गरेका छन्।
नेपाल रिको संचालक समितिको निर्णयलाई देखाउँदै थापाले २०८२ भदौ २३ गते जेनजी आन्दोलनका बेला १६ करोड २३ लाख ७६ हजार रुपैयाँ तेस्रो पक्ष बीमाबापतको रकम हिमालयनलाई भुक्तानी गर्न लगाएका थिए।
स्रोतका अनुसार यसका मुख्य योजनाकार नेपाल रिका तत्कालीन अन्डरराइडिङ प्रमुख विष्णु न्यौपाने हुन्। न्यौपानेले इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा १६ करोड २३ लाख ७६ हजार रुपैयाँ मोटर बीमा टिपीएल प्रोभिजनिङका लागि विनियोजन गरे।

त्यसपछि यो रकम हिमालयन रिलाई भुक्तानी दिने न्यौपानेसँगको योजना अनुरुप सीइओ थापाले संचालक समितिमा प्रस्ताव लगे। नेपाल रिको संचालक समितिले २०८२ जेठ २९ गते मोटर बीमाको तेस्रो पक्ष बीमाका सम्बन्धमा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा उल्लेखित विषय कार्यान्वयन गर्ने निर्णय गर्यो।
त्यही निर्णयलाई देखाएर थापाले हिमालयन रिलाई भुक्तानी दिन कर्मचारीको तहमा चलखेल गरे।
तर, २०८२ असार ३१ गते कम्पनीको संचालक समिति बैठकले कानुनसम्मत र नेपाल बीमा प्राधिकरणको निर्देशन नभएकाले सो रकम भुक्तानी नदिने निर्णय गर्यो। यो निर्णय सीइओ थापालाई चित्त बुझेन।
त्यसपछि उनले संचालक समितिको जेठ २९ गतेको निर्णयलाई देखाएर आफैंले २०८२ साउन २८ गते क्रेडिट नोट तयार पारी सप्टवेयरमा अपडेट गरे। स्रोतका अनुसार यसमा उनलाई न्यौपानेले सहयोग गरे।
थापा र न्यौपाने पुरानै चिनजानका साथी हुन्। हिमालयन रिलाई भुक्तानी दिने पूर्वयोजना अनुरुप नै थापाले न्यौपानेलाई अन्डरराइडिङ डिपार्टमेन्टबाट २०८२ साउन दोस्रो साता फाइनान्समा लगे। भदौ २० गते सीइओ थापाले फाइनान्स डिपार्टमेन्ट प्रमुख न्यौपानेलाई रकम भुक्तानी गर्न सिफारिस गरे।
कम्पनीका रिइन्स्योरेन्स डिपार्टमेन्ट प्रमुखले रकम भुक्तानी गर्न अस्वीकार गरेपछि सीइओ थापाले न्यौपानेमार्फत भुक्तानी गर्न लगाएको विभिन्न कागजातले देखाउँछ।
न्यौपानेले भुक्तानी गर्न रकम अभावको जानकारी गराउँदा थापाले लगानीबाट भुक्तानी गर्न निर्देशन दिएका थिए। त्यसपछि जेनजी आन्दोलनकै दिन सो रकम हिमालयन रिलाई भुक्तानी गरियो।
तेस्रो पक्ष मोटर बीमा नेपाल रि-इन्स्योरेन्सको नाफाको व्यवसाय भएकाले सीइओसहितका उच्च व्यवस्थापकले हिमालयन रिलाई बुझाउन लागेको थाहा पाएपछि कम्पनीका कर्मचारी आन्दोलित बने।
तर, थापा कार्यालयमा बाउन्सर लिएर पुगे। मोटर बीमामा तेस्रो पक्ष बीमाको रकम कानुनविपरीत हिमालयन रिलाई भुक्तानी गर्नुअघि थापाले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल सञ्चालनको जिम्मा हिमालयन रिलाई दिने निर्णयमा सहमति जनाएका थिए।
बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दहालले २०८१ फागुन ४ गते हिमालयन रि-इन्स्योरेन्सकी सीइओ उपासना पौडेल र नेपाल रिका सीइओ थापाको उपस्थितिमा बैठक राखेर वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको व्यवस्थापन गर्ने निर्णय गरे।
त्यसको सीइओ थापाकै सहमतिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलको बिजनेस हिमालयन रिलाई दिइयो।
उनले वार्षिक २ अर्ब रुपैयाँ बढीको बिजनेस रहेको वैदेशिक रोजगार म्यादी जीवन बीमाको पुल व्यवस्थापन ४ वर्षका लागि हिमालयन रिलाई सुम्पिएका थिए। स्रोतका अनुसार यसको जानकारी अरु कर्मचारीलाई थिएन।

नेपाल रिलाई कब्जा गर्ने रणनीति अनुसार बिचौलिया भट्ट र उनका साझेदार शंकर समूहको लगानी रहेको हिमालयन लाइफको हिमालयन लार्ज क्यापको नामबाट ४ अर्ब रुपैयाँ सार्वजनिक निष्कासनमार्फत उठाइयो।
हिमालयन इन्भेष्टर बैंकरलाई व्यवस्थापक बनाएर जारी गरिएको ४ अर्बको इकाईमध्ये ४० करोडको इकाई नेपाल रिलाई नै किन्न लगाइयो। इकाई बेचेर उठाइएको रकम नेपाल रिकै सेयर किन्न प्रयोग गरियो।
नेपाल रिको पैसाले सेयर किन्न लगाउने मात्रै होइन, हुलदंगा तथा आतंकवादको बीमा समेत सीइओ थापाले हिमालयन रिलाई सुम्पिए। नेपाल रि-इन्स्योरेन्सको एकाधिकार रहेको हुलदंगा तथा आतंकवादको बिजनेस थापाले भट्ट र शंकर समूह समूहको स्वार्थमा हिमालयन रिलाई दिए। जसका कारण हिल्टन होटलको रि-इन्स्योरेन्स आगजनी भएको ७ महिनासम्म सल्टिएको छैन।
हिल्टन शंकर समूहको लगानी रहेको कम्पनी हो। जसको पुनर्बीमाबापतको बिजनेस हिमालयन रिलाई दिने पूर्वयोजना अनुसार एलियन्ट ब्रोकरमार्फत ओरियन्टल इन्स्योरेन्सले बुझाइएको प्रिमियम हिमालयनलाई दिइएको थियो।
कम्पनीको प्रिमियम अस्वीकार गर्न लगाएर हिमालयन रिलाई बुझाएका सीइओ थापाले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पुगेको क्षतिपछि उत्पन्न दायित्व नेपाल रिबाट भुक्तानी गराउन कसरत गरेका थिए।
तर, थापा र भट्टको यो योजनामा ब्रेक लागेको छ। बीमा प्राधिकरणले अध्ययन गरेर हिल्टनको रि-इन्स्योरेन्स दायित्व हिमालयनले भुक्तानी गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेर अर्थ मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पठाएको छ।
भट्टको लगानी रहेको एलियन्ट ब्रोकरलाई प्राधिकरणले कारबाही गरेको छ।
तर, नेपाल रिको व्यवस्थापकीय नेतृत्वमा रहेर सरकारी कम्पनी डुबाउन एकपछि अर्को गतिविधि गरेका थापाले उन्मुक्ति पाएका छन्।










