बीमा कम्पनीको मुद्दती लगानी खुम्चिंदै, पैसा कल र चालु खातामा थुप्रिएपछि विकल्प खोजी 



आकाश बोगटी
२०८२ चैत्र २९ गते १६:२० | Apr 12, 2026
बीमा कम्पनीको मुद्दती लगानी खुम्चिंदै, पैसा कल र चालु खातामा थुप्रिएपछि विकल्प खोजी 


काठमाडौं। प्रणालीमा अधिक तरलता थुप्रिएर बैंकहरुले मुद्दती निक्षेप लिन नमानेपछि बीमा कम्पनीहरुले अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्।

Tata
GBIME

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल झर्दा समेत आफ्नो फण्डमा बैंकहरुले चासो नदिएपछि बीमा कम्पनीहरुले अन्य क्षेत्रमा लगानी बढाउन थालेका हुन्। बैंकको मुद्दती निक्षेपमा पैसा राख्न नपाएको अवस्थामा वैकल्पिक क्षेत्रमा लगानी गर्नु बीमा कम्पनीहरुको बाध्यता हो। अन्यथा लगानी होल्ड हुँदा आम्दानी खुम्चिन्छ।

सानिमा रिलायन्स इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डे बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, डिबेञ्चर, सेयर र परियोजनामा लगानी बढाउन थालेको बताउँछन्।

‘बैंकिङ प्रणालीमा तरलता अधिक छ। कर्जाको माग बढ्न नसकेर ब्याजदर घटे पनि उनीहरुले व्यवसाय बढाउन सकेका छैनन्,’ पाण्डेले भने, ‘संस्थागत मुद्दतीको ब्याजदर ३ प्रतिशतभन्दा तल छ। तैपनि उनीहरुले फण्ड लिन चाहेका छैनन्। न्यून ब्याजदरको मुद्दतीमा पनि पैसा राख्न नसकेपछि हामीले अन्य क्षेत्रमा लगानी बढाउन थालेका हौं।’

अहिले बैंकिङ प्रणालीमा १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। ब्याजदर निरन्तर तल आए पनि कर्जा लगानी अझै सुस्त छ।

‘सरकारी सुरक्षण पत्रमा लगानी गर्न सहज छैन। त्यसमा बैंकहरुसँग प्रतिस्पर्धा गर्न सकिंदैन,’ सीइओ पाण्डेले भने,’ ऋणपत्र र बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका अग्राधिकार सेयरमा लगानी बढाइरहेका छौं।’

बीमा कम्पनीहरुले पछिल्लो समय सेयर बजारमा पनि लगानी बढाउन थालेका छन्। बजारको उतारचढावलाई मध्यनजर गर्दै बीमा कम्पनीहरूले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष ६ महिनामा जीवन बीमा कम्पनीले अग्राधिकार सेयर, डिबेन्चर, बण्ड र ऋणपत्रमा १५ अर्ब ३ करोड तथा सेयर बजारमा करिब १२ अर्ब रुपैयाँ लगानी गरेका छन्। यस्तै, निर्जीवन बीमा कम्पनीले ६ महिनामा अग्राधिकार सेयर, डिबेन्चर, बण्ड र ऋणपत्रमा २६ करोड र सेयर बजारमा करिब १ अर्ब रुपैयाँ लगानी गरेको तथ्यांक छ।

बीमा कम्पनीहरुको ठूलो फण्ड कल खाता र चालु खातामा छ। यसले आम्दानी बढ्दैन। त्यसैले बीमा कम्पनीले लगानीका नयाँ विकल्प खोज्न थालेका छन्।

बीमा कम्पनीहरूले पछिल्लो समय प्रोजेक्ट लोनतर्फ झुकाव बढाएका छन्। उनीहरुले पूर्वाधार, ऊर्जा लगायत ठूला परियोजनामा सह-वित्तीयकरणमार्फत लगानी गर्न चाहेका छन्।

‘हामीसँग ठूलो फण्ड हुन्छ। लामो अवधिका लागि लगानी गर्न सक्छौं,’ एक बीमा कम्पनीका सीइओले बिजमाण्डूसँग भने, ‘हामीले आफैं परियोजना बनाउने कुरा भएन। बैंकहरुसँग मिलेर लगानी गर्न थप सहजीकरण गरिदिए भने त्यसले परियोजना बनाउन सहयोग पुग्नुका साथै हाम्रो स्रोत पनि उपयोग हुन्छ।’

केही बीमा कम्पनीले होटल तथा पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन्।

चालु आवको पहिलो तीन महिनामा बीमा कम्पनीले मुद्दती निक्षेपमा २४ अर्ब ५३ करोड लगानी गरेकोमा दोस्रो त्रैमाससम्म आइपुग्दा १२ अर्ब ९५ करोडमा झर्‍यो।

चालु आर्थिक वर्ष ८ महिनामा बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा २ अर्ब ८० करोड रुपैयाँ राखेका छन्। बैंकहरुले पुरानो मुद्दती निक्षेप नवीकरण गर्न नचाहेपछि घट्न थालेको ती सीइओले बताए।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीका क्षेत्र र सीमा तोकिदिए पनि त्यस अनुसार लगानी विविधिकरण गरेको अवस्था छैन।