
वासिङटन। अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ । अमेरिकी बाणिज्य मन्त्रालयले मंगलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो।
यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन्। फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री कम देखिनु अन्य वर्षजस्तै यो बर्ष पनि स्वभाविक रहेको बाणिज्य मन्त्रालयका एक अधिकारीले बताए।
विश्वव्यापी महामारीका कारण प्रभावित खुद्रा तथा अन्य व्यवसायिक गतिविधिमा सुधार आउने पूर्वानुमान विपरीत व्यवसायिक गतिविधि कम भएको हो। सन् २०२० मा कोभिड–१९ का कारण अत्यधिक प्रभावित अमेरिकी व्यवसायमा अझै पनि सुधार नआउनुलाई अमेरिकी जनतामा कोभिड सङ्क्रमणको भय अझै कायम रहेको भनी कतिपय अधिकारीले बताएका छन्।
अधिकारीहरूले महामारीविरूद्धको खोप अभियानसँगै घरायसी खर्चमा वृद्धि हुने र यसबाट व्यवसायहरूलाई राहत मिल्ने बताएका भएपनि अझै अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरूको दावी छ। तथ्याङ्कले कार, फर्निचर, विद्युतीय सामान जनवरीमा ७.६ प्रतिशत विक्री प्रवर्द्धन भएपनि फेब्रुअरीमा अन्य थुप्रै सूचीहरूमा फराकिलो गिरावट पुष्टि गरेको छ।











