चैतभित्र तामाकोशीको एउटा युनिटले उत्पादन गर्ने ऊर्जामन्त्रीको दाबी, ‘धेरै कुर्न पर्दैन’



बिजमाण्डू
२०७७ फागुन २३ गते १०:४९ | Mar 7, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले माथिल्लो तामाकोशीले चैत महिनाभित्र आफ्नो उत्पादन शुरु गर्ने दाबी गरेका छन्।

आफू मन्त्री भएर आउनेबित्तिकै काम छिटो गर्न निर्देशन दिएको उनले बताए। मन्त्री रायमाझीले शनिबार माथिल्लो तामाकोशी आयोजनाको एउटा युनिटले चैतभित्र उत्पादन शुरु गर्ने रिर्पोटिङ आएको बताए।

आयोजनाको शुरुवाती लागत करिब  ३५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । विभिन्न कारण आयोजनामा झण्डै ७० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

आयोजना निर्माणको जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकोले तोकिएको काम नगर्दा आयोजनामा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ। आयोजना निर्माण शुरु भएको झण्डै १० वर्ष पूरा हुन लाग्दा समेत नसकिँदा लागत र समय दुवै बढ्दै गएको थियो।

'ठूलै विपतको सामाना गर्नु नपरे आयोजनाबाट चैतबाट ७६ मेगावाट विद्युत उत्पादन भइसक्नेछ। त्यसपछि क्रमशः विद्युत् उत्पादनका मेगावाटहरू थपिँदै जान्छन्,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ भने, ‘अब भने यो आयोजनाबाट बिजुली उत्पादनका लागि थप दिन कुर्नुपर्ने छैन।’

राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट चैत्र महिनाभित्र बिजुली उत्पादन शुरु गर्ने नयाँ समयसीमा तोकिएको छ।

२०६८ सालमा निर्माण शुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना अन्तिम चरणमा निर्माणाधीन छ। आयोजनाको तथ्यांक अनुसार ९९.६ प्रतिशतभन्दा धेरै भौतिक निर्माण पूरा भएको छ।

आयोजनाका अनुसार हेडवर्क्सका प्रायः कार्य सम्पन्न भइसकेको छ। सुरुङ, भूमिगत विद्युतगृह, ट्रान्सफर्मरका काम पनि सम्पन्न भइसकेका छन्।

जटिल मानिएको पेनस्टक सुरुङको पाइप जडानको काम पनि सकिएको छ । कोरोनाको कारण देखाएर ठेकेदार कम्पनीले 'एक्सपान्सन ज्वाइन्ट पाइप' आयातमा ढिलाइ गरेको बताइएको छ।

आयोजनामा कूल ६ वटा यूनिट छ। पहिलो यूनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गरिनेछ। विद्युत् गृहमा उपकरण तथा अन्य सामानको जडान २ वर्ष पहिल्यै सकिएको हो।