पश्चिम सेती प्रसारण लाइनमा लगानी गर्ने कम्पनीको टुंगो लाग्यो, कुनको सेयर हिस्सा कति?



जनक वली
२०८२ चैत्र ११ गते १८:३८ | Mar 25, 2026
पश्चिम सेती प्रसारण लाइनमा लगानी गर्ने कम्पनीको टुंगो लाग्यो, कुनको सेयर हिस्सा कति?

काठमाडौं। सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न लागिएको पश्चिम सेती ४०० केभी प्रसारण लाइनमा लगानी संरचना टुंगिएको छ। 

Tata
GBIME
Nepal Life

प्रसारण लाइन निर्माणका लागि सरकारको ५१ प्रतिशतमध्ये राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल)ले २६ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी चिलिमे जलविद्युत र चैनपुर सेतीले १२.५/१२.५ प्रतिशत सेयर लगानी गर्ने टुंगो लागेको छ।

यस्तै निजी क्षेत्रका तर्फबाट ३ वटा कम्पनीको ४९ प्रतिशत लगानी रहनेछ। समृद्धि इनर्जी लिमिटेडको सबैभन्दा धेरै ३५ प्रतिशत तथा ङादी ग्रुपपावर लिमिटेड र सिउरी न्यादी पावर लिमिटेडको ७/७ प्रतिशत लगानी रहने टुंगो लागेको छ।

आरपीजीसीएलले सार्वजनिक-निजी साझेदारी अन्तर्गत एसभीपी मोडलमा प्रसारण लाइन निर्माण गर्न पुस १३ गते आशयपत्र मागेकामा २ वटा सरकारीसहित ८ कम्पनीको परेको थियो। निजी क्षेत्रका तर्फबाट मातामालिका इनर्जी मल्टिपल प्रालि, सुर्मा सरोवर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले पनि आशयपत्र पेस गरेका थिए।

आशयपत्र पेस गरेका कम्पनीसँग आरपीजीसीएलले लगानी प्रस्ताव मागेर मूल्यांकन समितिमार्फत अध्ययन गरी सेयर संरचना टुंगो लगाएको हो। २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन ३० प्रतिशत पुँजी र ७० प्रतिशत ऋण जुटाएर निर्माण गरिनेछ।

आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सागर श्रेष्ठले मूल्यांकन समितिले कम्पनीहरुको लगानी प्रस्ताव अध्ययन गरेर सेयर संरचना टुंगो लगाएको बताए।

‘इक्विटी लगानीका लागि हामीले आशयपत्र माग गरेका थियौं। सरकारी दुई वटा र निजी ६ वटा कम्पनीको आवेदन परेपछि हामीले लगानी कमिटमेन्ट मागेका थियौं,’ सीइओ श्रेष्ठले भने, ‘मूल्यांकन समितिले लगानी कमिटमेन्ट अध्ययन गरी सेयरको टुंगो लगाएर हामीलाई प्रतिवेदन बुझाएको छ।’

आरपीजीसीएलले मूल्यांकन समितिको प्रतिवेदन अब बोर्ड बैठकबाट स्वीकृति गरी थप प्रक्रिया अगाडि बढाउने छ। ‘मूल्यांकन समितिको प्रतिवेदन अब बस्ने बोर्ड बैठकबाट पास गर्छौं। त्यसपछि कम्पनी खडा गरी निर्माण प्रक्रिया अगाडि बढाउँछौं,’ सीइओ शाक्यले भने।

आरपीजीसीएलले सरकारसँग पर्याप्त स्रोत नभएका कारण पश्चिम सेती प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन लागेको हो।

‘प्रसारण लाइन निर्माणका लागि सरकारबाट स्रोत सुनिश्चित हुन नसकेका कारण हामीले पीपीपी मोडलमा बनाउन लागेका हौं। निजी क्षेत्रका कम्पनीको टुंगो लागेकाले अब समस्या हुँदैन,’ शाक्यले भने।

अब ६ कम्पनीको लगानीमा पश्चिम सेती प्रसारण लाइन कम्पनी खडा गरेर बझाङको जयपृथ्वी नगरपालिका-१ हम्मरसेनको चैनपुर सबस्टेसन र डोटीको शिखर नगरपालिका-१० मा रहेको बनलेक सबस्टेसन हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका-२ दोधारा सबस्टेसनसम्म करिब १४५ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।

यो आयोजना अन्तर्गत १६० एमभीएको चैनपुर सबस्टेसन र ३१५ एमभीएको बनलेक सबस्टेसन निर्माण गरिने छ। यसका लागि जग्गा प्राप्ति र आयोजनाको सर्वेको काम सम्पन्न भइसकेको छ।

यो प्रसारण लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती हाइड्रोपावर, ४५० मेगावाटको सेती नदी-६ हाइड्रोपावर र १७० मेगावाटको अपर सेती हाइड्रोपावरबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

यस्तै सेती नदी र यसको सहायक नदी बुढीगंगा तथा दार्चुला र बैतडीमा उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारणमा जोडिने छ।

आरपीजीसीएलले यसअघि तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निजी क्षेत्रसँग मिलेर बनाउन २०८१ पुस २ गते सम्झौता गरेकामा लाइसेन्स हस्तान्तरण नभएका कारण अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन।