एनएसीको बेथितिबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन, एक महिनाको समयसीमा



बिजमाण्डू
२०८२ चैत्र ७ गते १८:५७ | Mar 21, 2026
एनएसीको बेथितिबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन, एक महिनाको समयसीमा

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम (एनएसी) को बेथिति र विमान खरिद तथा मर्मतका क्रममा भएको अनियमितताको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले नागरिक उड्डयन महाशाखा प्रमुख मुकेश ढंगोलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सचिव मुकुन्द प्रसाद निरौलाले बिजमाण्डूलाई जानकारी दिए। उनका अनुसार समितिमा सहसचिव ढंगोल, उपसचिव रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटीसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय छन्।

‘एनएसीको बेथिति र जहाजमा भएको भष्ट्राचार लगायको विषयमा प्रमाण संकलन, अध्ययन गरी कार्यान्वयनको कार्ययोजना प्रस्तुत गर्न छानबिन समिति गठन गरेका हौँ। समितिलाई एक महिनाको समयसीमा तोकिएको छ,’ सचिव निरौलाले भने, ‘नेपाल वायु सेवा निगम सुधार कार्ययोजना (टीओआर) समेत समितिले तयार गर्ने छ।’

समितिले निगमको सुधार गर्न विगतका अध्ययन प्रतिवेदन र वर्तमान अवस्थाको यथार्थ अध्ययन गरी तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रुपमा कार्यान्वयन गर्न सकिने सुझावहरूको कार्ययोजना तयार गर्नुपर्ने छ। निगम वा मातहतका कार्यालय र विदेशमा कर्मचारी सरुवा, पदस्थापन, काज, कायममुकायम, निमित्त लगायतको जिम्मेवारी सेवा, समूह, उपसमूह अनुकूल हुने गरी तोकिएको वा नतोकिएको तथा करार वा ज्यालादारीमा नियुक्ति र समग्र कर्मचारी व्यवस्थापनको अवस्था छानबिन गरी सुझावसहित सिफारिस गर्न भनिएको छ।

यस्तै, निगमको विमान प्रयोग गर्ने यात्रुहरूको सुविधाका लागि अनलाइन टिकट बुकिङ सेवाको अवस्था अध्ययन गरी सुधार गर्न सिफारिस गर्ने र गन्तव्य क्षेत्रमा उडान भर्ने अन्य वायुसेवा र नेपाल वायुसेवाका यात्रुहरूको संख्या तथा भाडादरसम्बन्धी पछिल्लो ३ महिनाको तथ्यांकको तुलनात्मक अध्ययन गरी सुधारका लागि सिफारिस गर्न मन्त्रालयले समितिलाई निर्देशन दिएको छ।