बन्द भयो बिक्रम टेम्पो बनाउने गर्ने भारतीय कम्पनी, ऋणमा डुबेपछि सरकारले दियो मन्जुरी



बिजमाण्डू
२०७७ माघ १८ गते १४:३९ | Jan 31, 2021

Tata
GBIME
Nepal Life

भारतमा सरकारी स्वामित्वको पुरानो कम्पनी स्कुटर्स इन्डिया लिमिटेडलाई सरकारले बन्द गर्न सहमति दिएको छ।

लखनउमा उद्योग रहेको सरकारी कम्पनी स्कुटर्स इन्डिया बन्द गर्नका लागि केन्द्रीय क्याबिनेटको आर्थिक मामिला सम्बन्धी कमिटी सिसिइएले  मन्जुरी दिएको बुझिएको छ।

स्कुटर्स इन्डियाले बम्मे स्टक एक्सचेन्ज बिएसईलाई कम्पनी बन्द गर्न लागेकोबारे जानकारी दिँदै उद्योग मन्त्रालय अन्तर्गतको सक्षम प्राधिकरणले कम्पनी बन्द गर्न मन्जुरी दिएको जानकारी दिएको छ।

यसैगरी कम्पनी बन्द गर्न आवश्यक ६५.१२ करोड भारतीय रुपैयाँ ऋण लिन पनि कम्पनीलाई मन्जुरी दिएको बताइएको छ।

कम्पनीले भिआरएस वा भिएसएसको माध्यमबाट स्थायी कर्मचारीहरुलाई बिदा गर्ने तयारी गरिरहेको छ। कम्पनीमा हाल १ सय कर्मचारी छन्।

सरकारी स्वामित्वको उक्त कम्पनीले सन् १९७२ देखि  दुई पाङ्ग्रे सवारीको डिजाइन, बिकास, उत्पादन तथा बजारीकरणको लक्ष्यका साथ काम अघि बढाएको थियो।

उत्तर प्रदेशको लखनउस्थित दक्षिण पश्चिमी क्षेत्र सरोजिनी नगरमा रहेको कम्पनीले इटालीबाट प्लान्ट ल्याएर सन् १९७५ देखि ब्यावसायिक उत्पादन सुरु गरेको थियो।

कम्पनीले सन् १९९७ देखि नै स्कुटर उत्पादन बन्द गरी तीन चक्के सवारी उत्पादन गर्न लक्षित थियो।

कम्पनीले पहिले बिजय सुपर र ल्यामब्रेटा स्कुटर उत्पादन थाल्यो। बिजय सुपर आन्तरिक बजारका लागि र ल्यामब्रेटा निर्यातका लागि उत्पादन गरिएको थियो। पघि उसका तीन पाङ्ग्रे सवारी  बिक्रम र ल्याम्ब्रो ब्राण्डका टेम्पोहरु  चर्चित र सफल पनि  भए। 

तर कम्पनीको कमजोर ब्यवस्थापन तथा बजारको माग र समय अनुसार सवारी साधनको बिबिधिकरण र नव प्रयोग गर्न नसकेपछि कम्पनी बिस्तारै घाटामा जान थाल्यो।  लामो समय घाटामा रहेपछि सरकारले सन् २०१८ मा नै कम्पनीलाई बेच्नका लागि बोलपत्र आह्वान गरेको थियो।