१६ बैंकको नाफा घट्यो, साढे ६२ प्रतिशतसम्मले नाफामा गिरावट, एनएमबिको राम्रो प्रगति



बिजमाण्डू
२०७७ माघ १५ गते ०९:२२ | Jan 28, 2021
१६ बैंकको नाफा घट्यो, साढे ६२ प्रतिशतसम्मले नाफामा गिरावट, एनएमबिको राम्रो प्रगति

Tata
GBIME
Nepal Life

काठमाडौं। निक्षेपमा दिने र ऋणमा लिने ब्याज दरबीचको अन्तर (स्प्रेड) दर कटौतीले खुद ब्याज आम्दानी घटेपछि अधिकांश वाणिज्य बैंकहरुको नाफा गत वर्षको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंकहरुको नाफा घटेको छ। बिहीबार १७ बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन्, यसमध्ये चार वटाको नाफा बढेको छ। बाँकी जम्मैको घटेको छ।

आजसम्म कुल २५ बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। यसमध्ये १६ वटा बैंकको नाफा घटेको छ। अहिले २७ बैंक सञ्चालनमा छन्। यसमध्ये दुई बैंकले नाफा सार्वजनिक गर्न बाँकी छ। एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। 

नाफा सवा प्रतिशतदेखि साढे ६२ प्रतिशतसम्म घटेको छ। विदेशी संयुक्त लगानीका सबै बैंकको नाफामा गिरावट आएको छ। नाफा बढ्नेमा एनएमबि अग्रपङ्तिमा छ। बैंकको ४७.६९ प्रतिशतले नाफा बढेको छ। यसपछि प्राइम बैंकको ३९.४० प्रतिशत, ग्लोबल आइएमइ बैंकको ३७.३२ र मेगा बैंकको ३७.२८ प्रतिशतले नाफा बढेको छ।

कोभिड-१९ को असरका कारण एकातिर ऋण उठ्तीमा समस्या भयो भने अर्कोतिर राष्ट्र बैंकले स्प्रेडमा निकै कडाइ गरेको छ। स्प्रेड दर ४.४ प्रतिशतभन्दा तल ल्याउनु परेका कारण खुद ब्याज आम्दानी प्रभावित भएर नाफा घटेको देखिन्छ।

नबिल र माछापुच्छ्रे बैंकको नाफा २ प्रतिशत हाराहारीले घटेको छ। बाँकीको १० प्रतिशतभन्दा बढीले घटेको छ। सर्वाधिक नाफा घट्नेमा हिमालयन बैक छ। बैंकको साढे ६२ प्रतिशतले नाफा घटेको छ। यसपछि नेपाल एसबीआइको साढे ४८ प्रतिशतले नाफा घटेको छ। 

यद्यपि रकमका हिसाबले सर्वाधिक नाफा ग्लोबल आइएमइ बैंकको छ। उक्त बैंकले २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ। यसपछि नबिलले २ अर्ब एक करोड गरेको छ। प्राइम बैंकको एक अर्ब ८१ करोड, एनएमबि बैंकको एक अर्ब ६१ करोड, कृषि विकास बैंकको एक अर्ब ३२ करोड र मेगा बैंकको एक अर्ब ३० करोड रुपैयाँ नाफा गरेका छन्। 

रकमका हिसाबले सिभिल बैंकको नाफा जम्मा २० करोड २८ लाख रुपैयाँ छ । यसपछि सेञ्चुरी, नेपाल एसबीआइ र एनसीसी बैंक छन्। यसपाली हिमालयनलाई बैक अफ काठमाण्डूले नाफामा जितेको छ। बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्डलाई माछापुच्छ्रेले उछिनेको छ। 

बैंक पछिल्लो तीन महिना चालु बर्षको ६ महिना गत बर्षको पछिल्लो तीन महिना गत बर्षको पहिलो ६ महिना अन्तर %
एनएमबि 881002000 1613973000 820940000 1092785000 47.69355363
प्राइम 795694899 1813329809 641019567 1300787384 39.40247509
ग्लोबल आइएमइ 1256278000 2315118000 932764000 1685908000 37.32172811
मेगा 696567674 1304471559 512796964 950204907 37.28318486
नबिल 980311000 2016023000 918274000 2041861000 -1.265414247
माछापुच्छ्रे 441865402 802774409 445845112 821850256 -2.321085485
सिद्धार्थ 418099934 918740151 505110959 1026549478 -10.50210724
लक्ष्मी 494743000 807115000 501082000 903029000 -10.62136432
कृषि विकास 860219163 1321688559 819101446 1581727330 -16.44017689
एनसीसी 279416941 614004142 416005481 756348439 -18.81993664
बीओके 467104545 708511015 500091366 883816727 -19.83507515
सेञ्चुरी 246340000 466599000 279472000 650287000 -28.24722007
सिभिल 106206000 202884000 157298000 316247000 -35.84634795
एभरेष्ट 627140000 961904000 818961000 1509829000 -36.29053356
स्ट्यान्डर्ड चार्टर्ड 326268000 727639000 5828010000 1226913000 -40.69351291
नेपाल एसबीआइ 314357731 514859958 563520976 1000751965 -48.55269078
हिमालयन 287353991 653267995 1048184306 1742406476 -62.50771539

बैंक अफ काठमाण्डूले ७० करोड ८५ लाख, चार्टर्डले ७२ करोड ७६ लाख, माछापुच्छ्रे बैंकले ८० करोड २७ लाख रुपैयाँ नाफा गरेको छ। लक्ष्मी बैंकको नाफा ८० करोड ७१ लाख छ भने सिद्धार्थको ९१ करोड ८७ लाख छ। योभन्दा बढी एभरेष्टको ९६ करोड १९ लाख छ। एभरेष्टलाई कान्छोमध्येको मेगा बैंकले उछिनेको छ। मेगाले एक अर्ब ३० करोड नाफा गरेको छ। 

बिहीबारअघि सनराइज, सानिमा, प्रभु, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, सिटिजन्स् बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। यसमध्ये इन्भेष्टमेन्ट, नेपाल बैंक, सानिमा बैंकको घटेको छ। बाँकी सिटिजन्स, कुमारी, नेपाल बंगलादेश बैंक, प्रभु,  सनराइज बैंकको बढेको छ।

वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकको खराब ऋण बढेको छ। केहीले डुबेको ऋण उठाएर नाफा बढाएका छन् तर सँगसँगै खराब ऋणको मात्रा बढ्दो पनि देखिएको छ।