
काठमाडौं । सरकारले उखुको नयाँ मूल्य तोकेपछि चिनी उद्योगीले पनि नयाँ चिनीको मूल्य किलोमा दुई रुपैयाँले बढाएका छन्।
अहिले उखुको फसल काट्ने सिजन हो। यससँगै पछिल्लो एक महिनादेखि चिनी मिलहरुले धमाधम यस सिजनको चिनी उत्पादन गर्न थालेका छन्। नयाँ उत्पादन सुरु भएपछि उद्योगीहरुले चिनीको मूल्य प्रतिकेजी दुई रुपैयाँले बढाएको बताएका हुन्।
सरकारले तोकेको उखुको नयाँ मूल्यले चिनीको उत्पादन मूल्य पनि बढाएको चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । गत वर्ष प्रतिकेजी ६६ रुपैयाँ तोकिएको चिनीको फ्याक्ट्री मूल्य यो वर्ष ६८ रुपैयाँदेखि ७० रुपैयाँ भएको बताए।
'उत्पादनमा खर्च नै बढेकाले चिनीको मूल्य पनि मा बढेको हो,' उनले भने, 'हाल तस्करीको भारतीय चिनीका कारण धेरै नेपाली चिनीको मूल्य बढ्न सकेको छैन । उद्योगहरु घाटामा हुँदा मूल्य बढ्नुपर्ने भए पनि अहिले भारतीय तस्करीको चिनीका कारण अझै बढेको छैन।'
नयाँ उत्पादित चिनीको मूल्य किलोमा दुई रुपैयाँ बढ्नु सामान्य रहेको रिलायन्स चिनी उद्योगका संचालक राजकुमार अग्रवालले बताएका छन् । 'उखुको मूल्य बढ्दा चिनीको मूल्य स्वभाविक रुपमा बढेको हो,' उनले भने, 'सरकारले उखुको मूल्य क्विन्टलमा ८ रुपैयाँले बढाउँदा उद्योगले चिनीको मूल्य बढाएको हो । यसमा कसैले बोल्न मिल्दैन।'
गत महिनादेखि नै उद्योगीहरुले यस सिजनमा उत्पादित चिनी नयाँ मूल्यमा बिक्री गरिरहेका छन् ।
विगतका वर्षहरुमा उखु किसानलाई चिनी उद्योगीले भुक्तानीमा झुलाउँदै आएपछि किसानहरु उखु खेतीतर्फ हतोत्साही हुँदै गएका छन् । त्यसैको प्रभावस्वरुप यो वर्ष उखुको खेती कम भएको छ । उखु खेती घट्दै जाँदा उद्योगहरुले घाटामा जाने बताएका छन् । यसले गर्दा प्रतिकेजी ७५ रुपैयाँसम्ममा बिक्री गर्न सकिने भए पनि बजारमा त्योभन्दा महँगोमा बेच्न नै नसकिने अग्रवालको भनाइ छ ।
गत मंसिरमा कृषि तथा पशुपंछी विकास मन्त्रालयले दुई वर्षपछि उखुको समर्थन मूल्य प्रतिक्विनटल आठ रुपैयाँले बढाएर ५४३ रुपैयाँ तोकेको थियो । यस अघि उद्योगहरुले किसानलाई क्विन्टलको ५३५ रुपैयाँ दिएर उखु खरिद गर्दै आएका थिए।
गत वर्षको तुलनामा २० प्रतिशतले उत्पादन घट्ने
उखु खेती घट्दै गएकाले यो वर्ष पनि चिनीको उत्पादन नै कम हुने चिनी उद्योगीहरुले बताएका छन्। यो वर्ष गत सालको तुलनामा २० प्रतिशतले चिनीको उत्पादन कम हुने चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालको भनाइ छ ।
उखु खेती कम हुँदा चिनी उत्पादन भइरहे पनि उत्पादन क्षमता नै घट्दै गइरहेको उद्योगीहरु बताउँछन् । हाल देशभर १० चिनी उत्पादन गर्ने उद्योग छन् ।
अहिले पनि केही वर्षदेखिको उखुको भुक्तानी बाँकी रहेको हुँदा किसानहरुले आन्दोलसमेत गर्दै आएका छन् । किसानले समयमै उखुको भुक्तानी नपाउँदा उखु खेती मासेर तरकारी खेतीतर्फ लाग्न थाल्दा यस्तो स्थिती आएको हो। उखुको खेती कम हुँदा वर्षेनी चिनीका लागि नेपाली बजार भारत र अन्य तेस्रो मुलुकसँग निर्भर हुँदै आएको छ ।
स्वदेशी उत्पादनले केही समय मात्र चिनीको बजार माग धान्ने गर्छ। विगतका वर्षहरुमा नेपाली उद्योगहरुले दुई लाख मेट्रिक टनभन्दा बढी चिनीको उत्पादन गर्दै आएका थिए। चिनी उत्पादन घट्दै जाँदा गत वर्ष एक लाख ६० हजार मेट्रिक टनभन्दा कम उत्पादन भएको अग्रवालको भनाइ छ । यो वर्ष अझ घटेर एक लाख ५० हजार मेट्रिक टनभन्दा बढी चिनी उत्पादन हुन मुस्किल रहेको उद्योगीहरुको भनाइ छ ।
नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । स्वदेशी उद्योगहरुको उत्पादनले वर्षभर माग नधान्ने हुँदा अफ सिजनमा बजारमा चिनीको अभाव देखिँदा उपभोक्ताले किलोकै एक सय रुपैयाँसम्म हालेर खरिद गरेका थिए ।
उद्योगबाट बजारसम्म पुग्दा चिनीको कारखाना मूल्य किलोमा २० रुपैयाँसम्म बढी पर्ने गरेको छ । यद्यपि, बजारमा अहिले आयातित र स्वदेशी चिनी दुवैको मूल्य एउटै रहेको छ । अझ भारतबाट आयात गरिएको चिनी अझै सस्तो पर्छ।










