कोरोनाले रोजगारीमा सन् २००८ को संकटभन्दा बढी असर, आइएलओले भन्यो-रिकभरी अनिश्चित



बिजमाण्डू
२०७७ माघ १३ गते १०:१६ | Jan 26, 2021

Tata
GBIME
Nepal Life

कोरोना महामारीका कारण विश्वभरको रोजगारी दर नराम्ररी प्रभावित भएको छ। 

गत वर्षदेखि विश्व अर्थतन्त्रलाई नै धरासायी बनाएको कोरोना महामारीका कारण २२ करोड ५० लाख पूर्णकालीन रोजगारी गुमेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ।

महामारीका कारण कार्यसमय ८.८ प्रतिशत घटेको छ, जुन सन् २००८ को वित्तीय संकटको समयको भन्दा चार गुनाले बढी हो।

संयुक्त राष्ट्रसंघले रोजगारी कटौतीको अवस्था हेर्दा मात्र कोरोना महामारीले पुर्‍याएको क्षति कति भयावह छ भन्ने अनुमान गर्न सकिने बताएको छ। उसले खोपको वितरण सुरु भए पनि कहिले यसको रिकभरी हुन्छ भन्ने बारेमा अझै पनि अनिश्चितता रहेको समेत बताएको छ।

संयुक्त राष्ट्रसंघकै अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको अनुमान अनुसार सन् २०२१ मा कार्यसमय सन् २०१९ को भन्दा ३ प्रतिशत न्यून नै रहने छ भने अनुमानित ९ करोड रोजगारी मात्र पूर्णकालीन हुनेछ।

कोभिड १९ को खोप वितरण सुरु भए पनि यसले विश्व आर्थिक वृद्धिमा भने अपेक्षा गरिए अनुसारको लाभ तत्काल नदेखिने समेत प्रतिवेदनमा उल्लेख छ। यसो हुनुमा खोपको वितरणमा हुने ढिलासुस्ती तथा आर्थिक राहतको प्याकेजको उपलब्धतालाई कारण देखाइएको छ।

'आर्थिक सुधारका संकेतहरु सकारात्मक छन् तर ती असाध्यै अनिश्चित छन्। र हामीले के बिर्सनु हुँदैन भने कुनै पनि देश वा समूह एक्लैले सुधार हासिल गर्न सक्छ,' आइएलओका महानिर्देशक गाइ राइडरले भने।  

आइएलओले गत वर्ष नै पाँचमध्ये चार मानिसको रोजगारी पूर्ण वा आंशिक गुम्ने प्रक्षेपण गरेको थियो। सन् २०२० मा उसले अनुमान गरेभन्दा धेरै रोजगारी गुमेको तथ्यांकले देखाउँछ।

'यो सन् १९३० को महामन्दीभन्दा पनि गम्भीर संकटको अवस्था देखियो,' राइडरले भने।

 आइएलओले सन् २०१९ को तुलनामा ११ करोड ४० लाख रोजगारी गुमेको तथा ३ करोड ३० लाख मानिस बेरोजगार हुनुका साथै बाँकी निष्क्रिय रहेको तथा रोजगारी खोजिरहेको तथ्य प्रस्तुत गरेको छ।

समग्रमा गत वर्षको भन्दा श्रम जनशक्तिमा २.२ प्रतिशतले गिरावट आएको देखिएको छ जुन सन् २००८/०९ को वित्तीय संकटको अवधिमा ०.२ प्रतिशत मात्र थियो।

कोरोना महामारीले ल्याटिन अमेरिका, क्यारेबियन, दक्षिणी यूरोप तथा दक्षिणी एशिया ज्यादा प्रभावित बनेको देखिएको छ।

यसको प्रभाव महिला तथा युवाहरुमा बढी देखिएको बताइएको छ। यसले विश्वभरका देशहरुमा असमानता बढाउने खतरा बढेको पनि देखिएको आइएलओले जनाएको छ।