काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको बजार मूल्य ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य बिहीबारको भन्दा चार सय रुपैयाँले बढेको हो । तर पछिल्लो एक सातामा भने समग्रमा यो पहेंलो धातु दुई हजार आठ सय रुपैयाँले सस्तो भएको छ ।
अघिल्लो शुक्रबार महासंघले नेपाली बजारमा यसको कारोबार मूल्य ९५ हजार तीन सय रुपैयाँ तोकेको थियो । अन्तर्राष्ट्रिय बजारलाई आधार मानेर आयात मूल्य, ढुवानी भाडा, बीमा रकम, नाफा मार्जिन इत्यादि हिसाब गरेर नेपालमा सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदी दुवैको मूल्य निर्धारणको अगुवाई गर्दै आएको छ ।
खासगरी अमेरिकी अर्थतन्त्र, डलरको विनिमय दरको मजबुती, फेड रिजर्भ रेट इत्यादिले निर्देशित गर्ने सुनको मूल्य यो साताभर नै अन्तर्राष्ट्रिय बजारमा उतारचढावपूर्ण रह्यो । त्यही अनुसार नेपालमा पनि यसको मोल तलमाथि भइरह्यो । यसो हुँदै गर्दा एक हप्तामा यो झन्डै तीन हजार रुपैयाँले सस्तो भएको हो ।
यो साताको पहिलो दिन (आइतबार) नै सुन तोलामा २३ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा आइपुगेको थियो । सोमबार पनि ८ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झर्यो । मूल्य घट्ने क्रममा ब्रेक लाग्दै मंगलबार र बुधबार भने क्रमशः ६ सय र एक सय रुपैयाँले महँगिदै यो दुई दिनमा सुनको कारोबार मूल्य ९२ हजार ९ सय पुगेको थियो ।
सोपछि साताको बाँकी दुई दिनमा यो पहेंलो धातुको मूल्य तोलामा बिहीबार ८ सय रुपैयाँले घट्यो भने शुक्रबार चार सय रुपैयाँले महँगियो ।
चाँदीको मूल्य पनि आज शुक्रबार तोलामा १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार तोलामा १५ रुपैयाँले नै यो सस्तिएको थियो ।
पछिल्लो एक सातामा चाँदी पनि तोलामा ७० रुपैयाँ सस्तो भएको छ । गत शुक्रवार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा रहेको थियो ।
मूल्य घटेको भए पनि विश्व बजारमा नै सुनचाँदीको मूल्य उतारचढावपूर्ण रहेकाले यो अनिश्चयमा नेपालमा पनि अझै मूल्य घट्छ भन्ने आम अपेक्षा छ । सोही कारण अहिले सुनचाँदीको व्यापार कम रहेको व्यवसायीहरुले बताएका छन् । माघ लागेपछि सुनको कारोबार बढ्ने अनुमान उनीहरुको छ ।











