नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना, प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु



बिजमाण्डू
२०८२ माघ २१ गते १३:०७ | Feb 4, 2026
नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना, प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ।

यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु भएको कम्पनीको भनाइ छ।

विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना उपयोगी हुने कम्पनीको विश्वास छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए।

यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुनेछ र बीमितले ५ लाखदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले यो योजना लिन सक्नेछन्।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिने कम्पनीले जनाएको छ।

ग्राहकले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्ने र पोलेसी तुरुन्तै इमेलमार्फत प्राप्त हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।