काठमाडौं। बैंकले आयात गरेको १०० ग्राम सुनको बार व्यवसायीले नकिन्दा बैंकमै स्टक बस्न थालेको छ। बजारमा आपूर्ति सहज बनाउन व्यवसायीकै मागअनुसार आयात गरिएको बार अहिले बिक्री हुन सकेको छैन।
हालको मूल्यअनुसार बैंकबाट १०० ग्राम सुनको बार खरिद गर्न २४ लाख ७३ हजार ८५३ रुपैयाँ पर्छ। व्यवसायीले कम परिमाणका सुन आयात गर्न माग गरे पनि अहिले त्यही सुन नकिनेको देखिएको छ।
यतिबेला धेरै व्यवसायीले ५०० ग्राम र १ केजीका बार नै रोजिरहेका छन्। साना बारभन्दा ठूला बार खरिद गर्दा प्रिमियम शुल्क कम पर्ने भएकाले यस्तो भएको हो।
गत वर्षसम्म व्यवसायीले कम तौलको सुन ल्याउन लबिङ गरेका थिए। बैंकले प्रिमियम शुल्क महँगो पर्ने जानकारी दिँदै पहिलो चरणमा ३ केजी मात्र १०० ग्रामका बार आयात गरेका थिए। अहिले त्यो सुन बैंकमै थन्किएको छ।
संघका एक कर्मचारीले भने, ‘व्यवसायीबाट माग हुन्छ भनेर आयात गरेको १०० ग्रामको बार बिक्री भएको छैन।’
बजारमा सुनको माग भएको बेला सबै व्यवसायीले सुन नपाएको गुनासो आउने गरेको थियो।
उनले भने, ‘सबै व्यवसायीले थाहा नभएर खरिद नगरेको अनुमान गरेका छौँ।’
अहिले भने सानो परिमाणभन्दा ठूलो बारको खोजी बढेको छ। पहिले जस्तो १०० र २०० ग्राम खोज्ने व्यवसायी कम भएको बैंकका कर्मचारीले जानकारी दिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कम तौलको बारमा प्रिमियम बढी लाग्छ। सामूहिक रूपमा ठूलो परिमाणमा खरिद गर्दा शुल्क कम पर्ने भएकाले साना बार नबिकेको हो।
महासंघका उपाध्यक्ष धर्मरत्न बज्राचार्यले भने, ‘१०० ग्रामको बारमा तोलामा ३ सय रुपैयाँभन्दा बढी प्रिमियम पर्छ। ठूलो भोलुममा आयात गर्दा प्रिमियम कम पर्छ।’
पहिले व्यवसायीले बैंकसँग सामूहिक रूपमा सुन किनेर बाँड्ने गरेका थिए। यसले साना व्यवसायीले समयमा सुन नपाउने समस्या पनि हुने गरेको थियो।
अहिले बैंकसँग १०० ग्रामका बार स्टक भए पनि व्यवसायीले बढी शुल्कका कारण नकिनेको उनले बताए। ५०० ग्राम र १ केजीका बार खरिद गरेर भाग लगाउँदा प्रिमियम कम पर्ने भएकाले ठूला बार रोजिएको हो। जसले गर्दा बैंकले आयात गरेको १०० ग्रामको बार बैंकमा स्टक बसेको हो।
एक सुनचाँदी व्यवसायीले साना व्यवसायीले बढी शुल्क लाग्ने भएकोले बैंकबाट १०० ग्रामको बिस्कुट खरिद नगरेका बताए।
‘तोलामा ३ सय भनेको धेरै महँगो होइन। सामूहिकमा सुन किन्नुभन्दा आफैँ खरिद गर्न सहज हुन्छ। तर, कम परिमाणको सुन आयात गर्दा समय र खर्च बढी पर्ने भएकोले व्यवसायीले पनि बढी शुल्क हालेर खरिद गर्न पर्छ,’ उनले भने।
अहिले पहिलो जस्तो सुनको माग छैन। धेरै व्यवसायीले सुन खरिद गरेर राखिसकेका छन्। यसले गर्दा पनि अहिले बैंकबाट सुन नगएको उनले जानकारी दिए।











