सुन मूल्यमा पहिरो जाँदा व्यवसायीलाई झट्का, ऋण लिएर तीन दिनअघि उठाउनेलाई करोडौं नोक्सानी



सरला सुवेदी
२०८२ माघ १९ गते १८:५६ | Feb 2, 2026
सुन मूल्यमा पहिरो जाँदा व्यवसायीलाई झट्का, ऋण लिएर तीन दिनअघि उठाउनेलाई करोडौं नोक्सानी

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएपछि देशभरका सुनचाँदी व्यवसायीले एकै पटक ठूलो नोक्सानी व्यहोर्नुपरेको छ।

Tata
GBIME
Nepal Life

तीन दिनयता सुनको भाउ तोलाकै ५२ हजार ७०० रुपैयाँ घटेकाले उनीहरुलाई नोक्सानीको ठूलो झट्का लागेको हो। भाउ लगातार उकालो लाग्ने अनुमानसहित व्यवसायीले ऋण लिएर बैंकसँग सुन किनेका थिए।

बिहीबार तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुन घटेर आज प्रति तोला २ लाख ८६ हजार ६सय रुपैयाँमा आइपुगेको छ।

‘सुनमा गरिएको लगानी जुवाजस्तै भयो। बिहीबार किनेको सुन तोलामै सोमबारसम्म ५२ हजार भन्दा बढीले घटेको छ,’ न्यूरोड जेजे ज्वेलर्सका संचालक पवन सोमानीले बिजमाण्डूसँग भने, ‘मूल्य उकालो लाग्ने देखेर सुन किनेका थियौं। मूल्य बढेकाले किन्ने आएनन्। बिहीबार भन्दा केही दिनअघिदेखि किनेका धेरै व्यवसायीले करोडौं नोक्सानी व्योहोर्नुपरेको छ।’

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लाग्दा सुन किन्न व्यवसायीको पनि तछाडमछाड थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको अनेक अनुमानहरु सार्वजनिक भएकाले पनि व्यापारीले किनेर स्टक राखेका थिए। तर, अचानक मूल्यमा पहिरो गएपछि बैंक ऋण लिएर किनेका व्यवसायी तनावमा छन्।

पढ्नुस : ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका लागि चुनेका वार्सको ‘हक्किस’ स्वभाव, जसले घटाउँदैछ सुनको मूल्य

पुसको अन्तिममा तीनवटा बैंकले आयात गरेको १५० किलो सुनमध्ये यतिबेला करिब ६५ किलो मात्र बाँकी छ। गत मंसिरदेखि बजारमा सुनको कारोबार निकै कम थियो भने माघ लागेपछि मात्र बैंकबाट करिब ८५ किलो सुन बिक्री भइसकेको छ।

सोमानीका अनुसार सुनको मूल्य घटे पनि बजारमा किन्ने मान्छे छैनन्। ‘मूल्य बढ्दा बरु किन्ने मान्छे आउँथे। अहिले घट्दा फिटिक्कै मान्छे आएका छैनन्,’ उनले भने, ‘ स्टक पर्याप्त छ। हामी अन्तर्राष्ट्रिय बजारलाई हेरेर बसिरहेका छौं।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले महँगोमा किनेको सुन स्टक रहँदा धेरै व्यवसायी संकटमा पर्ने स्थिति आएको बताए।

‘मूल्य उकालो लाग्दा किनेर राखेको सुनले धेरै व्यवसायीलाई संकटमा डोर्‍याउने देखिन्छ,’ उनले भने, ‘हामीले किनेको सुन बैंकलाई दिन सक्दैनौं। अहिले यति नोक्सानी भयो भनेर बस्नुको विकल्प छैन।’

उनका अनुसार बैंक ऋण लिएर धेरै व्यवसायीले सुन किनेका थिए।

‘यो घट्ने क्रम रोकिएन भने बैंकबाट ऋण लिएर किनेका व्यवसायीलाई नराम्रो आर्थिक धक्का लाग्छ,’ बज्राचार्यले भने।

नेपाल बैंकर्स संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएपछि व्यवसायीले मागनै गरेका छैनन्।

‘मूल्य बढ्दा किन्ने होडबाजी थियो। त्यही भएर पुसमा डेढ सय किलोनै खोसाखोस भएको थियो,’ संघका एक कर्मचारीले भने, ‘अहिले घट्दा व्यवसायीले चासोनै देखाउनुभएको छैन।’

उनका अनुसार यो वर्ष तिहारपछि सुनको कारोबार अत्यन्तै कम भएको थियो। विवाहको सिजन भएपनि मंसिरमा सुनको कारोबार अघिल्लो वर्षभन्दा कम भयो। पुसको अन्तिममा मूल्य बढ्न थालेपछि व्यवसायीले स्टक राख्न थालेका थिए।