चुनावको मुखमा बजारमा देखिन थाल्यो ग्यास अभाव, दोषी आयल निगम की उद्योगी ?



शुक्र गिरी
२०८२ माघ १२ गते १७:४७ | Jan 26, 2026
चुनावको मुखमा बजारमा देखिन थाल्यो ग्यास अभाव, दोषी आयल निगम की उद्योगी ?

काठमाडौं। बुलेट अभावले लोडिङ पर्याप्त नहुँदा बजारमा एलपी ग्यास हाहाकार हुने अवस्था निम्तिएको छ। चुनाव नजिकिंदै गर्दा खपत बढिरहेकामा ढुवानीमा समस्याले बजारमा ग्यास अभाव हुने अवस्था निम्तिएको हो।

Tata
GBIME
Nepal Life

अहिले प्राय: सबै उद्योगलाई एलपी ग्यास ल्याउन समस्या भइरहेको छ। केही दिनदेखि बजारमा कतिपय कम्पनीले माग अनुसार ग्यास दिन सकिरहेका छैनन्।

एक ग्यास डिलरका सञ्चालकले उद्योगहरुले ग्यास लोडिङमा समस्या भएकाले पर्याप्त मात्रामा नआएको भन्दै आफूहरुलाई कम सिलिन्डर पठाउन थालेको बताए।

‘ग्यास नै नआएको भन्ने होइन। तर उद्योगले नै हामीकहाँ अहिले आयातमा सहस्या रहेको भन्दै सिलिण्डर घटाएका छन्। जसले गर्दा ग्यास सजिलै पाउन कठिन हुन थालेको छ। आपूर्ति घटेका कारण उपभोक्ताले ग्यास लिनका लागि डिलरमा नाम टिपाउनुपर्ने अवस्था छ,’ ती सञ्चालकले भने।  

नेपाल आयल निगमका अनुसार व्यवसायीले जनवरी लागेपछि २५ दिनमा ३८ हजार मेट्रिक टन ग्यास आयात गरेका छन्।

गत नोभेम्बर ४६ हजार ३४६ मेट्रिक टन आयात गरिएको एलपी ग्यास जाडो बढेपछि डिसेम्बरमा ४९ हजार १८४ मेट्रिक टन आयात भएको थियो।

अहिले प्राय: उद्योगले ट्रान्सपोर्ट र ग्यास बुलेट अभावका कारण लोडिङमा समस्या हुँदा नेपाल आयल निगमले दिने पीडीओ नै कम उठाइरहेका छन्।

उद्योगी शिव घिमिरेले बुलेट कम भएकै कारण पर्याप्त ग्यास आउन नसक्दा अभाव भएको जिकिर गरे।

‘भारतमा पाइपलाइन विस्तार गर्ने भनेपछि व्यवसायीले गाडी थपेनन्। पाइपलाइन समयमा नबनेपछि त्यही आपूर्तिका लागि बुलेट धेरै प्रयोग हुन थाल्यो,’ घिमिरेले भने, ‘हामीलाई नजिक भएकाले बरौनी रिफाइनरी पछिल्लो तीन महिनादेखि डिस्टर्ब छ।’

ग्यास आयातका लागि निगमले पीडीओ जारी गर्छ। पीडीओ जारी गर्नुअघि निगमले मागबारे भारतीय आयल निगम (आईओसी)लाई जानकारी गराउँछ। त्यसपछि आईओसीले कुन-कुन रिफाइनरीबाट ग्यास दिने भनेर जानकारी पठाउँछ। नेपाली उद्योगीहरुले बरौनी, हल्दिया, मथुरा र पारादीपबाट एलपी ग्यास बुलेटमा लोड गर्ने गरेका छन्।

बरौनी सबैभन्दा नजिकको रिफाइनरी हो। अन्य रिफाइनरीबाट ग्यास बुलेट ल्याउँदा भाडा धेरै लाग्छ। मथुरा र हल्दिया रिफाइनरी नेपालबाट सबैभन्दा टाढा पर्छन्।

सामान्यतया जाडो समयमा ग्यास खपत १५ प्रतिशतले बढ्छ। तर यसपालि बजारको माग अनुसार ग्यास बेच्न नपाएको उद्योगीहरुको भनाइ छ।

‘अहिले जाडो सिजनमा ग्यास बिक्री १५ प्रतिशत वृद्धि हुनुपर्ने हो। तर हामीले बजारमा माग हुँदा हुँदै पनि भारतबाट ल्याउन पाएका छैनौं। माग धान्न अहिले महिनामा ५० हजार मेट्रिक टन ग्यास ल्याउनुपर्नेमा ४० हजार मेट्रिक टन पनि आएको छैन,’ घिमिरेले भने, ‘बुलेटका लागि पालो कुर्नु परिरहेको छ। २/३ दिन नभइ पालो आउँदैन। निगमले यतातर्फ चासो दिएको छैन।’

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने व्यवसायीहरुले भने जस्तो समस्या नरहेको बताए।

‘व्यवसायीले भने जस्ता आयात धेरै घटेको होइन। अहिले भारतमा पनि ग्यास खपत अत्यधिक रहेकाले आईओसीले कुनै दिनमा ८० बुलेट मात्रै दिने गरेको छ। हामीले आईओसीलाई संख्या बढाउन भनेका छौं,’ भट्टले भने, ‘सिजन अनुसारको पीडीओ उद्योगले नै उठाएका छैनन्। यस विषयमा हामीले अनुगमन थालेका छौं।’

जाडोको माग धान्न भारतबाट दैनिक ९० बुलेट ग्यास ल्याउनुपर्छ। भट्टका अनुसार अहिले कुनै कुनै रिफाइनरीमा उत्पादन कम भएकाले त्यसको विकल्प उपलब्ध गराउन आईओसीलाई पत्राचार गरिएको छ।