काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज प्रति तोला सुन ९ हजार २०० र चाँदी ३२० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख १ हजार ४०० र चाँदी प्रति तोला ६ हजार १९० रुपैयाँ कायम भएको छ।
गत बुधबार एक तोला सुनको मूल्य २ लाख ९५ हजार १०० र चाँदीको मोल ५ हजार ९२० कायम भएको थियो। मंगलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० र चाँदीको मोल ५ हजार ८८० कायम भएको थियो।
गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८०० र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार एक तोला सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९६० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ९८ डलरमा कारोबार भइरहेको छ।











