काठमाडौं। निकै उच्च भएको अण्डाको भाउ गत महिनादेखि घट्ने क्रममा छ। आपूर्ति सहजसँगै मागमा कमी आउने थालेपछि उत्पादकहरुको संस्था भाउ घटाउने रणनीतिमा छ। पछिल्लो समय बजारमा अण्डाको भाउ बढ्दै बिक्री मूल्य नै क्रेटमा ५५० रुपैयाँभन्दा माथि पुगेको थियो।
गत पुसदेखि उत्पादन बढी र खपत कम हुन थालेपछि भाउ घट्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि बजारमा लागू हुनेगरी अण्डाको भाउ क्रेटमा १५ रुपैयाँसम्म घटाएर नयाँ मूल्य कायम गरेको छ। संघका अनुसार ठूलो (एक्सएल) अण्डा क्रेटको ४८० रुपैयाँ थियो। क्रेटमा १० रुपैयाँ घटेर ४६५ रुपैयाँ मूल्य कायम भएको छ। मिडियम अण्डा क्रेटमा १५ रुपैयाँ घटेर ४४५ रुपैयाँमा आइपुगेको छ।
यस अघि संघले तोकेको मूल्यअनुसार ठूलो अण्डा क्रेटको ४७५ रुपैयाँ थियो भने मिडियम क्रेटको ४६० रुपैयाँ थियो।
चिसोयाममा अण्डाको उत्पादन बढ्ने गरेको छ। स्वस्थानी व्रतको समय भएकाले पुस र माघमा खपत कम हुदा अण्डाको भाउ घट्ने क्रममा रहेको संघले जनाएको छ। हाल दैनिक २५ लाख गोटाभन्दा बढी अण्डा उत्पादन भइरहेको छ।










