झापा-२ मा विघटित प्रतिनिधि सभाका सभामुख र उपसभामुखबीच प्रतिस्पर्धा हुने



प्रकाश भण्डारी
२०८२ माघ ५ गते ११:५८ | Jan 19, 2026
झापा-२ मा विघटित प्रतिनिधि सभाका सभामुख र उपसभामुखबीच प्रतिस्पर्धा हुने

काठमाडौं। विघटित प्रतिनिधिसभाका सभामुख र उपसभामुखबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। झापा-२ मा एमालेका तर्फबाट निवर्तमान सभामुख देउवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर उम्मेदवार बन्ने पक्का भएको हो।

Tata
GBIME
Nepal Life

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षमा होमिएकी राना २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने समानुपातिक निर्वाचनबाट संसद् पुग्दै उपसभामुख बनेकी थिइन्।

देवराज घिमिरे

घिमिरेले भने २०७९ को निर्वाचनमा झापा-२ बाटै २८ हजार ७१६ मत ल्याएर चुनाव जितेका थिए। त्यतिबेला रास्वपाका रुद्रप्रसाद गिरीले ८ हजार ७८१ मत ल्याएर रास्वपाबाट चौथो बनेका थिए।

घिमिरेसँग भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले कडा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला २६ हजार ४५५ मत ल्याएर दोस्रो बनेका नेपाल यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनाव लड्ने तयारीमा छन्।

इन्दिरा राना मगर

चुनावी मैदानमा उत्रिएका सभामुख र उप सभामुखबीच बेला बेलामा तिक्ततापूर्ण सम्बन्ध रहेको थियो। अमेरिकी दूतावासलाई भिसाका लागि पत्र लेखेको भन्दै राना विवादित बनेकी थिइन्। घिमिरेले पनि सभामुखको भूमिका निष्पक्षपूर्ण निभाउन नसकेको भन्दै आलोचना हुने गरेको छ।

घिमिरेमाथि आफू निर्वाचित भएको दल एमालेप्रति नरम बनेको आरोप लाग्ने गरेको थियो। चुनावी तयारीमा रहेका घिमिरेले आफू सहजै जित्नेस्थिति रहे पनि यसपटक नेताहरुप्रति घृणा फैलाएको भन्दै जित्नका लागि माहोल बनाउनुपर्ने स्थिति रहेको बताए।

‘अहिले माहोल कस्तो भने नेता भनेको सबै भ्रष्टचारी भन्ने परेको छ। अहिले सजिलै जित्ने भन्दा पनि मेहनत राम्रै गर्नु पर्छ,’ उनले भने।

झापा-२ मा रास्वपाकी निशा डाँगीले उम्मेदवार बन्ने भन्दै तयारी गरेकी थिइन्। डाँगीले झापा-१ बाट टिकट पाएकी छन्। रास्वपाले रानालाई झापा-२ र आफूलाई उम्मेदवार बनाएको बताइन्।

‘उपसभामुखले झापा-२ बाट चुनाव लड्नुहुन्छ। म अन्तिममा १ मा गएँ,’ उनले भनिन्।