दीपेन्द्रसिंह ऐरीसहित ९ नेपाली क्रिकेटरसँग ‘माया ग्रुप’ले गर्‍यो प्रायोजन सम्झौता



बिजमाण्डू
२०८२ पुष २० गते १६:३२ | Jan 4, 2026
दीपेन्द्रसिंह ऐरीसहित ९ नेपाली क्रिकेटरसँग ‘माया ग्रुप’ले गर्‍यो प्रायोजन सम्झौता

काठमाडौं। ‘माया ग्रुप’ले ९ जना नेपाली क्रिकेटरसँग प्रायोजन सम्झौता गरेको छ। सन् २०१८ मा स्थापना भएर बेलायत र नेपालका फरक-फरक क्षेत्रहरूमा काम गर्दै आएको माया ग्रुपले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित ९ जना क्रिकेटरसँग प्रायोजन सम्झौता गरेको हो।

Tata
GBIME
Nepal Life

‘अरुले १ जनालाई मात्र ब्राण्ड एम्बास्डर बनाउँछन्, हामीले केही फरक गरौँ भनेर ९ जनासँग सम्झौता गरेका हौँ,’ माया ग्रुपका निर्देशक राज पाण्डेले भने।

सम्झौता गरिएका खेलाडीमा ऐरीसहित गुल्सन झा, भीम सार्की, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैशी, शुशिल रावलसँगै यू-१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन पनि छिन्।

सम्झौता रकम खुलाइएको छैन। यद्यपि, खेलका लागि आवश्यक सामाग्री जुटाउनेदेखि बेलायतमा एक्सपोजरका लागि पनि सहयोग गर्ने पाण्डेले बताए।

क्रिकेटर अर्जुन साउदले अघिल्लो वर्ष बेलायतमा पूरा सिजननै खेलेर आएको बताउँदै यसले ठूलो सहयोग पुगेको बताए। त्यस्तै, नेपालमै एकेडेमी बनाउने लगायतका योजनाबारे पनि पाण्डेले जानकारी दिए।

‘रकम यति नै भनेर त हामीले खुलाएको छैन। यो आपसी समझदारीमा टुंगाएको विषय हो,’ पाण्डेले भने, ‘उहाँहरुलाई केही कुराको आवश्यकता भए हामीलाई भन्न सक्नुहुन्छ। क्रिकेट विकास हुन पैसा सँगसँगै आवश्यक सामाग्री र एक्सपोजर पनि चाहिन्छ। हामी सबै पक्षमा सहयोग गर्न तयार छौँ।’

माया ग्रुपले क्रिकेट क्लब, इन्भेस्टमेन्ट प्रोपर्टी, स्पोर्ट्स सेन्टर, राष्ट्रिय पोषाक घर (बेलायत) लगायत विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ।