सुर्खेतमा सवारी लाइसेन्स वितरण सुरु, मुख्यमन्त्रीले भने- अब छपाइ पनि प्रदेशबाटै हुन्छ



बिजमाण्डू
२०७७ असोज ८ गते १४:२४ | Sep 24, 2020

Tata
GBIME
Nepal Life

सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ।

बिहीबार एक कार्यक्रमका बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सेवाग्राहीलाई लाइसेन्स वितरण शुभारम्भ गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री शाहीले अब लाइसेन्स छपाइ प्रक्रियाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको बताए।

संघीयताले सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन गरेकाले लाइसेन्स छपाइको प्रक्रियाका लागि पनि गृहकार्य गरेको भन्दै कार्यालयलाई पारदर्शी तरिकाले सेवा प्रवाह गर्न आग्रह गरे।

गत वर्ष माघ ६ गतदेखि आवेदन दिएकाहरु समेतले ढिला गरी बल्ल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका हुन्।

कार्यालयले पहिलो दिन पाँच सय ५३ वटा नयाँ लाइसेन्स वितरण गरेको कार्यालयका निमित्त प्रमुख आनन्द चपाइँले जानकारी दिए।

गत वर्ष माघबाटै  सेवा सुरु गरिएपनि लाइसेन्स छपाउन काठमाडौं पठाउनुपर्ने र कोरोना महामारीका कारण सवारी चालक अनुमतिपत्र वितरणमा ढिलाई भएको कार्यालयको भनाइ छ।

नयाँ लाइसेन्सबाट मात्रै कार्यालयलाई आठ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय निमित्त प्रमुख चपाँईले बताए।