काठमाडौं। पार्टीसँग कुनै सल्लाह नै नगरी नेकपा एमालेको पछि लाग्दा मधेश प्रदेशमा एक सांसदको पद गुमेको छ।
राप्रपाकी सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन्। मधेस प्रदेश सभा सचिवालयले शुक्रबार विच्छालाई पदमुक्त गरिएको सूचना प्रकाशन गरेको छ।
उनी पार्टीलाई कुनै जानकारी नदिइ एमालेका सरोजकुमार यादवको पछि लागेर कात्तिक २४ गते वन तथा वातावरणमन्त्री बनेकी थिइन्। बिहान ४ बजे होटलमा शपथ लिएका कारण यादवको नियुक्ति विवादमा परेको थियो।
राप्रपाले पार्टीसँग सल्लाह नगरी एमालेको पछि लागेर आफूखुशी मन्त्री बनेको भन्दै विच्छालाई तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। तर विच्छाले अटेर गरेकी थिइन्। त्यसपछि राप्रपाले विच्छालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न मंसिर १२ गते प्रदेश सभालाई पत्राचार गरेको थियो।
विच्छाको मन्त्री पद बुधबार नै गइसकेको छ। मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थाका कारण बुधबार राजीनामा दिएसँगै विच्छा पूर्वमन्त्री भइसकेकी छन्।











