काठमाडौं। सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी दोस्रो खेलमा सुरुवाती ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो।
सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारी र क्रिस लिनले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे। भण्डारीले १७ बलमा २१ रन बनाउँदै रञ्जित कुमारको बलमा अमरसिंह रौटेलाबाट क्याचआउट भए।
अर्का ओपनर क्रिस लिनको अर्धशतकीय इनिङ्स सुदूरपश्चिमको स्कोर उकास्न सबैभन्दा महत्वपूर्ण रह्यो। उनले ५६ बलमा ५ चौका र ३ छक्काको सहायतामा ७५ रन बनाएर रिटायर्ड हर्ट भए।
त्यस्तै, इसान पाण्डे र हरमीत सिंहले समान १ रन बनाउँदा पुनित सिंहले १३ रन बनाए। त्यस्तै कप्तान दीपेनद्रसिंह ऐरी र आरिफ शेख समान २४ रन बनाएर अविजित रहे।
बलिङतर्फ चितवनका सैफ जैबले २ विकेट लिँदा रञ्जितकुमार र जर्ज स्किमशले समान १ विकेट लिए।
चितवन केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।











