काठमाडौं गोर्खाज प्लेअफमा, शहाब आलमको नाममा एनपीएलको पहिलो ह्याट्रिक



बिजमाण्डू
२०८२ मंसिर १८ गते १५:३८ | Dec 4, 2025
काठमाडौं गोर्खाज प्लेअफमा, शहाब आलमको नाममा एनपीएलको पहिलो ह्याट्रिक
काठमाडौं गोर्खाजको सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित टीयू क्रिकेट स्टेडियममा आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्समाथि झिनो जित निकाल्दै काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गरेको छ। यसअघि सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखरा १५२ रनमा समेटियो।

काठमाडौंविरुद्ध पोखराको ब्याटिङ। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

१६६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पोखराको सुरुवात राम्रो हुन सकेन। अघिल्लो खेलमा शतक बनाएका ओपनर एडम रोसिङ्टन ५ रन बनाएर सन्नी पटेलको बलमा बोल्ड आउट हुँदा कप्तान कुशल भुर्तेल पनि २२ रन बनाएर काठमाडौंका कप्तान करण केसीको बलमा मिलिन्द कुमारबाट क्याचआउट भए।

त्यस्तै, जेसन रोयल १६ र तृतराज दास ९ रनमा आउट हुँदा ८.३ ओभरमा पोखरा ५५-४ को अफ्ठेरो अवस्थामा पुगिसकेको थियो।

क्रिजमा पोखराका ऋषि र धनञ्जय। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

पोखराको इनिङ्स माथि लैजान धनञ्जय लक्षन र ऋषि धवनको साझेदारी महत्त्वपूर्ण रह्यो। यी दुईले ४७ बलमा ७६ रनको साझेदारी गरे। धनन्जयले ३० रन बनाउँदा ऋषिले ५४ रन बनाए।

बलिङतर्फ काठमाडौंका शाहब आलमले ह्याट्रिक विकेट लिए। उनले १९.१ ओभरमा ऋषि धवन, १९.२ ओभरमा विपिन खत्री र १९.३ ओभरमा आकाश चन्दलाई पभेलियन फर्काए। उनले कुल ६ विकेट लिए। एनपीएलको इतिहासमा यो पहिलो ह्याट्रिक विकेट हो।

शहाब आलम। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

शहाबबाहेक करण केसी र सन्नी पटेलले समान २ विकेट लिए।

जितपछि काठमाडौंका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौंको इनिङ्स

सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ रोजेका थिए।

सुरुवाति ब्याटिङमा उत्रिएको काठमाडौंका लागि बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतक महत्वपूर्ण बन्यो।

अर्धशतक पूरा गरेका बेन चार्लसवर्थ। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

बेनले ५५ बलमा ५ चौका र २ छक्काको मद्धतमा ६४ रन बनाए।

अर्का ओपनर आकाश त्रिपाठी डकआउट हुँदा मिलिन्द कुमारले १३, जोन सिम्ससनले २ तथा मोहम्मद आदिल आलम र राशिद खानले समान ७ रन बनाए।

आकाश त्रिपाठीको डकआउट भएका थिए। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

काठमाडौंका लागि दोस्रो अर्धशतक भीम सार्कीले बनाए। उनले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए।

बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक ४ विकेट लिँदा कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए।