काठमाडौं। सेयर बजारमा बीमा कम्पनीले आक्रामकरुपमा लगानी बढाएका छन्। बैंकको ब्याजदर निरन्तर ओरालो लागेका बेला लगानीको नयाँ उपकरण नपाएपछि बीमा कम्पनीले मुद्दती निक्षेपको रकम सेयर बजारमा सिफ्ट गरेका हुन्।
चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ४७ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन्। कम्पनीले एक वर्षमा ५५.१५ प्रतिशतले सेयर बजारमा लगानी बढाएका हुन्।
गत वर्ष असोजसम्म सेयर बजारमा जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीको लगानी ३० अर्ब ९१ करोड ५५ लाख रुपैयाँ थियो।
बीमा कम्पनीले आफ्नो कुल लगानीको ५.३७ प्रतिशत पैसा सेयर बजारमा हालेका छन्। यो वर्ष असोजसम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले कुल लगानी ८ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
बैंकको ब्याजदर घटेकाले लगानी डाइभर्टस्वरुप सेयर बजारमा लगानी बढाएको बिमकहरु बताउँछन्।
‘बैंकको ब्याजदर घटेको अवस्था छ। त्यसैले पोर्टफोलियो म्यानेज गर्न छोटो अवधिका लागि सेयर बजार उपयुक्त हुने देखेर लगानी सिफ्ट गरिएको हो। पछिल्लो पटक प्राधिकरणले इन्स्योरेन्स कम्पनीले सेयर बजारमा लगानी गर्न पाउने सीमा बढाएका कारण पनि टेवा पुगेको छ,’ आइएमई लाइफ इन्स्योरेन्सका सीइओ पवनकुमार खड्काले भने, ‘सेक्युरिटीलाई पनि ध्यान दिएर लगानीका लागि अहिलेको अवस्थामा के ठिक हुन्छ भन्ने विश्लेषण गरेर इन्भेष्ट गरिरहेका छौं। हामीले हस्पिटालिटी, हाइड्रोपावर र पूर्वाधारतिर पनि लगानी बढाउनुपर्ने अवस्था छ।’
मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीको लगानी गत वर्ष कात्तिकसम्म ४ खर्ब ९० अर्ब १९ करोड रुपैयाँ रहेकामा अहिले ५ खर्ब ५२ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यस्तै निर्जीवन बीमा कम्पनीले मुद्दती निक्षेपमा पोहोर कात्तिकसम्म ४६ अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेकामा अहिले ४१ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ।
यस्तै मुद्दतीमा पुनर्बीमा कम्पनीको लगानी २८ अर्ब ९९ करोड ४५ लाख रुपैयाँबाट एक वर्षमा २४ अर्ब ५२ करोड ३९ लाख रुपैयाँमा झरेको छ।
सेयर बजारमा जीवन बीमा कम्पनीले सबैभन्दा धेरै ५१.६५ प्रतिशतले लगानी बढाएका छन्। सेयर बजारमा बीमा कम्पनीको कुल लगानी ३७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। पोहोरसम्म सेयर बजारमा बीमा कम्पनीको लगानी २४ करोड ८६ लाख रुपैयाँ थियो।
दुई आर्थिक वर्ष पहिलो त्रैमासमा जीवन बीमा कम्पनीले सेयर बजारमा गरेको लगानी रु लाखमा
| बीमा कम्पनी | २०८२/८३ असोजसम्म | २०८१/८२ असोजसम्म | फरक % |
| हिमालयन लाइफ | ११३९८४.०५ | ७०६००.७० | ६१.४५ |
| नेपाल लाइफ | ६३३३८.६७ | ३३३७३.४९ | ८९.७९ |
| सूर्यज्योति लाइफ | ३८८४६.२३ | २३५५२.८८ | ६४.९३ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | २९९६३.०० | २०१९२.३२ | ४८.३९ |
| आइएमई लाइफ | २३०२४.२५ | १३०१२.५० | ७६.९४ |
| रिलायबल नेपाल | १९३१६.८६ | ११९८०.६० | ६१.२३ |
| प्रभु महालक्ष्मी लाइफ | १७३२६.७९ | ९७४६.५४ | ७७.७७ |
| सन नेपाल लाइफ | १६८५५.२६ | १०६१८.१० | ५८.७४ |
| सिटिजन लाइफ | १४९७८.६८ | ८१७२.७९ | ८३.२७ |
| नेसनल लाइफ | १३५८४.०८ | ६८६५.९१ | ९७.८५ |
| सानिमा रिलायन्स लाइफ | १२५१०.४१ | ५८२८.२३ | ११४.६५ |
| एसियन लाइफ | ११३११.४१ | १३११४.१९ | -१३.७५ |
| राष्ट्रिय जीवन बीमा कम्पनी | २०६४.४८ | २१५९४.८४ | -९०.४४ |
| कुल लगानी | ३७७१०४.१७ | २४८६५३.०८ | ५१.६६ |
जीवन बीमा कम्पनीको कुल लगानी ७ खर्ब ८९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो रकम पोहोर असोजसम्मको तुलनामा १६.५६ प्रतिशत धेरै हो। जीवन बीमा कम्पनीको कुल लगानी पोहोर असोजसम्म ६ खर्ब ७७ अर्ब ५९ करोड रुपैयाँ थियो।
निर्जीवन बीमा कम्पनीको कुल लगानी ३.६६ प्रतिशतले घट्दा सेयर बजारमा लगानी २७.०२ प्रतिशतले बढेको छ। कम्पनीले यो वर्ष पहिलो त्रैमाससम्म ५ अर्ब १६ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।
गत वर्ष असोजसम्म निर्जीवन बीमा कम्पनीले सेयर बजारमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गरेका थिए।
सेयर बजारमा नेपाल रिइन्स्योरेन्सले ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ। सेयर बजारमा नेपाल रिले लगानी स्थिर राख्दा हिमालयन रिले १६४.२४ प्रतिशतले बढाएको छ।
हिमालयन रिको लगानी सेयर बजारमा ५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। पोहोर असोज सम्म कम्पनीको यस्तो लगानी १ अर्ब ८९ करोड रुपैयाँ थियो।
दुई आर्थिक वर्ष पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले सेयर बजारमा गरेको लगानी लाखमा
| बीमा कम्पनी | २०८२/८३ असोजसम्म | २०८१/८२ असोजसम्म | फरक % |
| राष्ट्रिय बीमा कम्पनी | ७९४१.८८ | ७९४१.८८ | ० |
| नेको | ६५८०.३८ | ६२२२.१९ | ५.७६ |
| सगरमाथा लुम्बिनी | ६३५९.७० | ४३७८.०४ | ४५.२६ |
| सिद्धार्थ प्रिमियर | ६१८०.३३ | ५०८६.२४ | २१.५१ |
| आइजीआई प्रुडेन्सियल | ४७१६.२६ | ५२१०.६२ | -९.४९ |
| युनाइटेड अजोड | ३६७७.६६ | १७२४.७४ | ११३.२३ |
| हिमालयन एभरेष्ट | ३६५०.८९ | २९२८.९३ | २४.६५ |
| नेपाल इन्स्योरेन्स कम्पनी | ३३७१.४२ | ६८५.०२ | ३९२.१६ |
| सानिमा जीआईसी | ३०६८.०४ | ३३७५.२३ | -९.१ |
| शिखर | २८५३.१० | १२६२.८७ | १२५.९२ |
| एनएलजी | २०७८.४५ | ६३६.३ | २२६.६५ |
| प्रभु इन्स्योरेन्स | ११२४.७६ | ११७३.७२ | -४.१७ |
| कुल | ५१६०२.८७ | ४०६२५.७७ | २७.०२ |
अधिकांश बीमा कम्पनीको ठूलो फण्ड बैंकको मुद्दती निक्षेपमा छ। कम्पनीहरुसँग लगानीको धेरै विकल्प छैन। बैंकको ब्याजदर अहिले जम्मा २.७५ प्रतिशत छ। कर्जाकै औसत ब्याजदर साढे ७ प्रतिशतमा आउँदा पनि ऋणको माग बढ्न नसकेर प्रणालीमा तरलता थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन्।
अधिक तरलताका कारण लागत बढ्ने भएपछि बैंकहरुले अहिले ठूलो आकारको निक्षेप लिनै अस्वीकार गरिरहेका छन्। ब्याजदर घटेका कारण मुद्दतीको रकम केही इन्स्योरेन्सले पूर्वाधार, ऊर्जा र पर्यटनमा लगानी गरिरहेका छन्।
एनएलजी इन्स्योरेन्सका सीइओ सुनिल बल्लभ पन्तले बैंकको ब्याजदर निकै तल आएको र सेयर बजारमा अहिले अवसर देखिएकाले त्यतातिर लगानी बढाएको बताए।
‘बैंकको ब्याजदर असाध्यै घट्यो। अहिले सेयर बजार पनि माथि गएको देखिंदैन। कम्पनीहरुको सेयर प्राइस कम भएकाले लगानीको अवसर देखेर हामीले इन्भेष्ट बढाएका छौं,’ पन्तले भने, ‘तत्कालै त फाइदा छैन। तर, बजारले लय समात्यो भने प्रतिफल आउँछ।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लगानीकर्ताले कन्फिडेन्स गुमाउँदा सेयर बजार माथि जान सकेको छैन। बजारका लागि सूचकहरु अनुकूल भए पनि नेप्से २६४४ अंकमा छ।










