गगन-विश्वले थाले मुद्दा मिल्ने नेतासँग संवाद, शेखरसँग विशालनगरमा छलफल



बिजमाण्डू
२०८२ मंसिर २ गते १६:०४ | Nov 18, 2025
गगन-विश्वले थाले मुद्दा मिल्ने नेतासँग संवाद, शेखरसँग विशालनगरमा छलफल

काठमाडौं। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापइतरका नेता डा शेखर कोइरालासँग भेटेका छन्। विशालनगरस्थित कोइरालाको सचिवालयमा गगन-विश्व र शेखरबीच छलफल शुरु भएको छ।

Tata
GBIME
Nepal Life

संस्थापन पक्षले निर्वाचनअघि महाधिवेशन नगर्ने छाँट देखाएपछि एजेन्डामा एक देखिएका नेतासँग गगन-विश्वले छलफल थालेका हुन्। ‘अहिले छलफल जारी छ। बिहान नियमित नभए विशेष महाधिवेशनमा जानैपर्ने बाध्यता रहेको डा शेखरको भनाई सार्वजनिक भएसँगै दुई महामन्त्री छलफलमा पुग्नुभएको हो,’ गगनको सचिवालयले भन्यो।

असोज २८ बाट जारी केन्द्रीय समितिले अझै पनि महाधिवेशन कहिले गर्ने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन। महामन्त्री थापाले पुसको १६ देखि १९ गतेसम्ममा नियमित महाधिवेशन गर्न सकिने कार्यतालिका प्रस्तुत गरे पनि संस्थापन पक्षले त्यसको काउन्टरमा वैशाख २७ देखि २९ गतेको कार्यतालिका ल्याएको छ।

निर्वाचनअघि महाधिवेशन गर्न नसकिने संस्थापन पक्ष देखिएसँगै महामन्त्री थापाले अब नियमितको च्याप्टर क्लोज भएको र विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। अर्का महामन्त्री शर्माले निर्वाचनअघि महाधिवेशन नभए महामन्त्रीबाट राजीनामा दिने चेतावनी सभापति शेरबहादुर देउवालाई दिइसकेका छन्।

मंगलबार बिहान युवा नेताहरुसँगको भेटमा नेता कोइरालाले पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नैपर्ने धारणा राखेका थिए। ‘निर्वाचनभन्दा अगाडि पुसभित्र अनिवार्य नियमित महाधिवेशन हुनुपर्‍यो। नभए केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्छ। यसले पार्टीलाई एकतवद्ध बनाउछ र फुटबाट बचाउँछ,’ कोइरालाले भनेका थिए।

यसैगरी संस्थापन पक्षका २४ जनाले निर्वाचनअघि नै महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्। यो समूहलाई समेत गगन-विश्वले भेट्ने बताइएको छ। कांग्रेसले आफ्नो निर्णय सुनाउन बोलाइएको बैठक सार्दै बिहीबार पुर्‍याएको छ।