एनपीएल-२ को तयारी पूरा, डे-नाइट खेल हुने, पुरस्कार राशि यथावत्



मुकुन्द घिमिरे
२०८२ कात्तिक २९ गते १४:४७ | Nov 15, 2025
एनपीएल-२ को तयारी पूरा, डे-नाइट खेल हुने, पुरस्कार राशि यथावत्

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले आगामी सोमबार (मंसिर १ गते)देखि सुरु हुने लिग यसपटक झनै भव्य रूपमा आयोजना गरिने जानकारी गराएको छ।

Tata
GBIME
Nepal Life

दोस्रो संस्करणमा पुरस्कार राशिमा भने परिवर्तन नगरिएको क्यानले जनाएको छ। क्यानका सचिव पारस खड्काका अनुसार पहिलो संस्करणमा निर्धारण गरिएका राशि नै यथावत् रहनेछन्। पहिलोपटक एनपीएल फ्लडलाइटअन्तर्गत डे-नाइट प्रारूपमा हुने भएकाले दर्शकमा थप आकर्षण बढ्ने अपेक्षा गरिएको उनले बताए।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाखसहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए। यही पुरस्कार संरचना दोस्रो संस्करणमा पनि कायम राखिएको छ।

यसपटकको लिगबाट ३०–४० करोड रुपैयाँसम्म आम्दानी हुने क्यानले लक्ष्य लिएको छ। कोषाध्यक्ष पदम खड्काले १५ करोड बराबरको स्पोन्सर एग्रीमेन्ट गरिसकेको बताए। उनका अनुसार टिम ओनरबाट मात्र करिब ९ करोड रुपैयाँ आइसकेको छ। ‘नेपालको खेलकुदमै नयाँ हुने हिसाबले हामीले यसपटक ओटीटी व्यवस्था गरेका छौं,’ उनले भने।

ओटीटी प्रसारण अधिकार डिसहोम गोले ५ करोड ३० लाखमा प्राप्त गरेको छ। विश्वभरिबाट उठ्ने डिजिटल आम्दानीमध्ये ७१ प्रतिशत क्यान र २९ प्रतिशत डिसहोमको रहनेछ।

त्यसैगरी, लिनेयर टीभी प्रसारण अधिकार न्यूनतम १ करोडमा फाइनल भएको छ, र यो रकम अझै बढ्न सक्ने क्यानको अनुमान छ। टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने लक्ष्य पनि राखिएको छ। स्टेडियम क्षमता र बढ्दो दर्शक उत्साहका आधारमा टिकट आम्दानी अझ उच्च हुन सक्ने अपेक्षा गरिएको छ।

मुख्य तथा अन्य स्पोन्सरसिपबाट १५ करोडसम्मको प्याकेज सुरक्षित भइसकेको कोषाध्यक्ष खड्काले जानकारी दिए। विदेशी खेलाडीहरू क्रमशः नेपाल आइपुगिरहेका छन् भने सबै ८ फ्रेन्चाइज टोली प्रशिक्षणमा व्यस्त छन्।

लिगको उद्घाटन खेल सोमबार साँझ ४ बजेदेखि साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ। दोस्रो संस्करणले आर्थिक तथा व्यावसायिक दृष्टिले नेपाली फ्रेन्चाइज क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने आशा क्यानको छ।